ललितपुर । ललितपुर जिल्लाको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज (शुक्रबार) बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।
बिहिबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पुल्चोकमा स्थानीय युवाहरु र सुरक्षाकर्मीबीच झडप भएपछि कर्फ्यू आदेश जारी गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
कर्फ्यू समयावधिमा आवतजावत गर्न, भिड गर्न र जुलुश निकाल्न पूर्ण प्रतिबन्ध लगाइएको छ । यदि यी आदेश पालना नगरेको खण्डमा सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्ने बताइएको छ । सर्वसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिएको छ ।
शुक्रबार निषेधाज्ञाबीच स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तानेपछि स्थानीय र प्रहरीबीच झडपले उग्ररुप लिएको थियो । रथयात्राका लागि पुल्चोकमा जम्मा भएका स्थानीय युवाहरुले रथ तान्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।
मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा तोडेर रथ तानेको बताइएको छ । असोज २ देखि मलमास सुरु हुँदैछ।
कोरोना महामारीका कारण निर्धारित तिथिमा हुन नसकेको रथ जबरजस्ती तानिएको हो । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा मिचेका हुन् ।