धरान । कोरोना भाइररसको संक्रमणले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिराहाका एक बृद्धको मृत्यु भएको छ। प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार राति राति ११:२० बजे भदैया-६ का ८४ वर्षीय बृद्धको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।
मृगौलामा समस्या भएर प्रतिष्ठानको आकस्मिक कक्षमा भदौ ६ गते भर्ना भएका उनलाई मेडिसिन वार्डमा सारेर मिर्गौलाको डाइलासिस हुँदै थियो। भदौ ७ गते पीसीआर रिपोर्ट कोरोना पोजिटिभ देखिएपश्चात उनलाई तत्काल प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो।
मृगौलाका दिर्घरोगी भएका उनको स्वास प्रस्वासमा गम्भीर समस्या आएका कारण मृत्यु भएको डा. सापकोटाले बताए। उनको शव सिराहा लाने तयारी भइरहेको छ। प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु हुने संक्रमितको संख्या १६ पुगेको छ।