वीरगंज । नेपालमा कोरोना संक्रमितको संख्या प्रतिदिन पाँच सयभन्दा बढी थपिइरहेकाे छ। संख्या थपिएसँगै पछिल्लो समय देखिएका संक्रमितमा गम्भीर लक्षण पनि देखिन थालेका छन्। तर केहीमा भने कोरोना पुष्टि मात्र भएका छन्, उनीहरुमा लक्षण भने देखिएकाे छैन।
लक्षणसहितका संक्रमित कोभिड अस्पतालका आइसोलेसनमा छन्। कोरोना पुष्टि भएर पनि लक्षण नदेखिएका संक्रमित भने सरकारकाे स्वास्थ्य निर्देशिकाअनुसार होम आइसोलेसनमै छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा सबैखाले संक्रमितकाे संख्या ३० हजार ४ सय ८३ पुगेकाे छ।
यतिखेर अस्पतालमा सबै संक्रमितका लागि पर्याप्त आइसोलेसन बेड नहुँदा लक्षण नभएका संक्रमित होम आइसोलेसनमा बस्न बाध्य छन्। मुलुकभर होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार ५ सय ८६ छन्। सरकारले कोरोना पुष्टि भए पनि लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने गरी निर्देशिका जारी गरी स्थानीय तहको निगरानीमा बस्नलाई अनुमति दिएको छ।
तर संक्रमितलाई स्थानीय तहका स्वास्थ्यकर्मीले निगरानी गरेको भने खासै पाइँदैन। धेरैजसाे स्थानीय तहले दिनमा एक पटक फोन गरेर सम्पर्क गर्नेबाहेक काम गरेका छैनन्। संक्रमितमा क्षण-क्षणमा लक्षण परिवर्तन हुन्छ, त्यसको विवरण पनि राख्दैनन्। होम आइसोलेसनमा रहेका संक्रमितलाई राम्रोसँग निगरानी नगर्दा मृत्यु हुने र समुदायमा संक्रमण फैलने सम्भावना बढेको छ।
विराटनगर महानगरपालिकामा ६ का ४५ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ। होम आइसोलेसनमा बस्ने संक्रमितको मृत्यु हुनुमा बिस्तारै-बिस्तारै कोरोना लक्षणको विकास भइरहेको पुष्टि हुँदै गएको देखिन्छ। यो समाचार तयार पार्दासम्म स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ मा सबैभन्दा बढी २ हजार ८ सय ९७ संक्रमित होम आइसोलेसनमा बसेका छन्।
प्रदेश १ मा २ सय ६८, प्रदेश ५ मा २ सय ४२,बागमती प्रदेशमा १ सय ११, सुदुर पश्चिममा २३,गण्डकी २७ र कर्णालीमा १८ जना छन्। सरकारले हतारमा निर्णय गरेर होम आइसोलेसनमा बिना लक्षणका संक्रमित राख्ने तयारी गरिसकेको छ। संक्रमितको वर्गीकरण गरेर होम आइसोलेसनमा राख्नुपर्ने जनस्वास्थ्य विज्ञले राय व्यक्त गरेका छन्।