बेइजिङ । चिनियाँ अधिकारीहरूले चीनमै विकास गरिएको कोभिड-१९ खोपलाई पहिलो आविष्कार ‘पेटेन्ट’ (सर्वाधिकार) प्रदान गरेका छन् । विशेषज्ञहरूले यस खोपले चिनियाँ मौलिकता र सिर्जनात्मकतालाई प्रदर्शन गर्ने र चीनले विकास गरेको कोभिड-१९ खोपले अन्तर्राष्ट्रिय बजारमा विश्वास बढाउने बताएका छन् ।
चिनियाँ ह्याकरहरूले कोरोना भाइरसको उपचार र खोप विकासको अनुसन्धानको डाटा चोरी गर्न खोजेको भन्ने अमेरिकी आधारहीन आरोपलाई यस खोपले खण्डन गरिदिने विज्ञहरुले बताएका छन् । चिनियाँ खोप कम्पनी क्यानसिनो बायोलोजिक्स कर्पोरेसनलाई चीनको बौद्धिक सम्पत्ति नियामक संस्थाले ११ अगस्तमा एडी ५-एनकोभ नाम दिइएको यस खोपको पेटेन्ट प्रदान गरिएको हो ।
चिनियाँ सैन्य संक्रामक रोग विज्ञ चेन वेई नेतृत्वको टोलीले विकास गरेको चीनमा सर्वाधिकार प्राप्त गर्ने यो पहिलो खोप भएको बताइएको छ । क्यानसिनेले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्याटेन्ट प्राप्त गर्नुले यस खोपको प्रभावकारिता र सुरक्षित भएको पुष्टि गरेको छ । विश्वसनीयसँगै यसको बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) को स्वामित्व पनि प्रदान गरेको छ ।”
बौद्धिक सम्पत्तिको अधिकारको क्षेत्रमा वकालत गरिरहेका सु सिङमिङले अन्य मुलुकको तुलनामा चीनको प्याटेन्ट परीक्षा प्रणाली कडा हुने गरेको र खोप खोपले उक्त परीक्षा पार गरेको बताएका छन् ।
क्यानसिनोले पहिलो चरणको क्लिनिकल ट्रायलमा सुरु भएको तीन दिनपछि मार्च १८ मा प्याटेन्ट प्राप्तिका लागि आवदेन दिएको थियो । यस खोपको तेस्रो चरणको परीक्षण विभिन्न मुलुकमा भइरहेको कम्पनीले जनाएको छ ।
पहिलो र दोस्रो चरणको परीक्षणको नतिजा जुलाई २० सम्म प्राप्त भएको र जुन सकारात्मक भएको बताइएको थियो ।
क्यानसिनोले कोभिड-१९ खोपका लागि तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि मेक्सिकोसँग पनि सम्झौता गरेको मेक्सिकोको विदेश मन्त्रालयले गत साता जनाएको थियो ।
साउदी अरेबियाका स्वास्थ्य अधिकारीहरूले पनि अगस्त ९ मा खोपको तेस्रो चरणको परीक्षणका लागि सहयोग गर्ने प्रतिबद्धतासहित ५ हजार सहभागी उपलब्ध गराउने जनाएको थियो । क्यानसिनोले रुस, ब्राजिल र चिलीसँग एडी ५-एमकोभ तेस्रो चरणको परीक्षण गर्ने विषयमा छलफल भएको बताइएको छ । -ग्लोबल टाइम्स