वीरगंज | जनकपुरमा ३ दिनअघि उपचारको क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।काव्या अस्पतालमा उपचाररत जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने ४३ वर्षीय पुरुषको गत शुक्रबार मृत्यु भएको थियो ।
रुघाखोकीसँगै ज्वरो आएपछि काव्या अस्पतालमा भर्ना भएका ती पुरुषको मृत्यु भएपछि उनको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
ती पुरुषको मृत्यु भएपछि अस्पतालमै स्वाब संकलन गरी शव परिवारजनको जिम्मा लगाइएको थियो । परिवारले शव बुझेर अन्तिम संस्कारसमेत गरिसकेको अवस्थामा मृतक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका जनस्वास्वास्थ्य प्रशासक विजय झाले बताए ।योसँगै धनुषामा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।