वीरगंज | निजी विद्यालय सञ्चालकहरूले स्थगित गरेका अनलाइन र दूर शिक्षाका कक्षा बिहीबारबाट सुचारु भएका छन् । सरकारले आफ्ना मागलाई बेवास्ता गरेको भन्दै प्याब्सन र नेसनल प्याब्सनले साउन १ गतेदेखि कक्षा बन्द गरेका थिए ।
विद्यार्थी, अभिभावक र सरोकारवालाको आग्रहपछि कक्षा सुचारु गर्ने निर्णय गरिएको प्याब्सन, एनप्याब्सनले जनाएका छन् । विद्यालय पुनः सञ्चालनका विषयमा शिक्षा मन्त्रालयले बुधबार सरोकारवालाहरूसँग छलफल गरेको थियो । छलफलपछि वैकल्पिक कक्षा सुरु गर्ने प्रतिबद्धता आएको हो ।