बीरगन्ज | स्थानीय तहहरुलाई प्राप्त अनुदान मध्ये २९ करोड १९ लाख ५० हजार २४ रुपैँया रकम फ्रिज भएको छ । पर्सा जिल्लाको सबै स्थानिय तहहरुका लागि आर्थिक वर्ष २०७६/७७ मा संघीय सरकारबाट समानीकरण अनुदान, सशर्त, समपुरक विशेष अनुदान र अन्तर सरकारी अख्तियारी गरी ५ अर्ब ६८ करोड ८४ लाख ६५ हजार प्राप्त भएकोमा ५ अर्ब ३९ करोड ६५ लाख १४ हजार ९ सय ७५ रुपैँया हस्तानान्तरण निकासा गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साले जनाएको छ ।
संघीय सरकारबाट स्थानीय तहको लागि समानीकरण अनुदान, सशर्त, समपुरक र विशेष अनुदान गरि ४ अर्ब २५ करोड ७६ लाख जम्मा अनुदान आएकोमा स्थानीय तहहरुले ४ अर्ब ८५ करोड ४३ लाख ३६ हजार ७ सय ५० रुपैँया मात्र खर्च गर्न सकेको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साको प्रारम्भीक रिपोर्टमा देखिएको छ । १७ करोड २१ लाख ६३ हजार २ सय ५० रुपैँया पर्साका स्थानिय तहहरुले खर्च गर्न सकेनन् । त्यसैगरी, पर्साका स्थानीय तहहरुका लागि प्रदेश सरकारबाट ३२ करोड ८८ लाख ७ हजार अनुदान आएकोमा पर्साका स्थानीय तहहरुले जम्मा २६ करोड ६ लाख ७४ हजार ५ सय ६६ रुपैँया खर्च गरेको छ ।
पर्सामा आर्थिक वर्ष २०७६/७७ मा संघीय सरकारले १ खर्ब ६५ अर्ब ५ करोड ९७ लाख १० हजार रुपैँया राजश्व असुली गरेको छ । त्यसैगरी, प्रदेश सरकारले १ अर्ब २४ करोड ११ लाख ८१ हजार रुपैँया राजश्व संकलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख लक्ष्मीराम पौडेलले बताए । सरकारी उदासिनता,जनप्रतिनिधिहरुको लापरवाही तथा कोरोना महामारीका कारण यो वर्ष पनि पर्सामा विकासले गति लिन सकेन ।