पोखरा । कोरोनाका कारण गएराति पोखरामा मृत्यु भएका ५५ वर्षीय व्यक्तिले स्याङ्जाको सिरुबारीमै किराना पसल गर्ने गरेको पाइएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले दिएको जानकारीअनुसार मृतकको कुनै ‘ट्राभल हिस्ट्री’ देखिँदैन ।“उहाँको घर अर्जुनचौपारी र व्यवसाय उहाँले आँधिखोला १ पञ्चमुलमा गर्नुहुन्थ्यो,” क्षेत्रीले बाह्रखरीसँग भने, “उहाँलाई ज्वरो आएपछि पोखरा जानुभएको रहेछ । त्यहाँ चेक गर्दा कोरोना देखियो । अहिलेसम्म उहाँको सम्पर्कमा को को आए । उहाँलाई कहाँबाट कोरोना सर्यो भन्ने पत्ता लगाउन सकिएको छैन ।”
स्याङ्जा स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद पौडेलले पनि घर र व्यवसाय गर्ने स्थान फरक फरक भएकाले कहाँबाट कोरोना सर्यो भन्ने पत्ता लाग्न नसकेको बताए ।“हामीले ३५–४० जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ,” पौडेलले भने, “मृतकको ट्राभल हिस्ट्री छैन । उहाँको किराना पसल पनि भएकाले तरकारी ल्याउने गाडीमा आउनेहरुसँग सम्पर्क थियो कि भन्ने पनि आशंका छ । तर यही नै हो भन्न सकिँदैन ।”