पर्वत | गण्डकी प्रदेशमा बुधवार बिहान थप ३२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। यो सँगै प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या ७ सय २९ पुगेको छ। प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएका पिसिआर परीक्षणको नतिजा आएसँगै नयाँ ३२ जना सङ्क्रमित रहेको पुष्टि भएको हो। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार उनीहरू लमजुङमा ५ जना, पर्वतमा १ जना, स्याङ्जामा ७ जना, कास्कीमा ५ जना, गोरखामा १ जना, बागलुङमा ९ जना, तनहुँमा १ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १ जना रहेका छन्।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा बिनोदबिन्दु शर्माकाअनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङको मध्यनेपाल नगरपालिकाका ४ जना पुरुष, बेसीशहर नगरपालिकाकी १ जना महिला, पर्वतको कुस्मा नगरपालिकाकी १ जना महिला, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १ जना पुरुष, आँधीखोला गाउँपालिकाका १ जना पुरुष र वालिङ नगरपालिकाका ३ जना पुरुष र २ जना महिला गरी ५ जनामा सङ्क्रमणको पुष्टि भएको छ। यसै गरी कास्कीको पोखरा महानगरपालिकाका १ जना पुरुष र २ जना महिला, मादी गाउँपालिकाका १ जना पुरुष र १ जना महिला रहेका छन्।
गोरखाको गण्डकी गाउँपालिकाका १ जना पुरुष, बागलुङको बरेङ गाउँपालिकाका ८ जना पुरुष जैमिनी नगरपालिकाका १ जना पुरुषमा पनि सङ्क्रमण रहेको पाइएको छ। चितवनको भरतपुर अस्पतालमा गरिएको स्वाब परीक्षणमा तनहुँको देवघाट गाउँपालिकाका १ जना पुरुष र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाका ३ जना महिलामा पनि सङ्क्रमण रहेको पुष्टि भएको छ। सम्बन्धित जिल्लाका क्वारेनटाइन तथा होम क्वारेन्टाईनमा रहेका उनीहरूलाई बुधवार नै सम्बन्धित जिल्लाका आइसोलेसनहरूमा सार्ने तयारी भइरहेको पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बताएको छ।