वीरगंज । सरकारको नियमित खोप कार्यक्रममा यो महिना देखि रोटा भाइरस विरुद्धको खोप थपिने भएको छ । यो संगै बालबालिकामा दिईने निशुल्क खोपको संख्या १२ पुग्ने छ ।ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इमुनाइजेसन (गाभी)को सहयोगमा युनिसेफले पठाएको ३ लाख २४ हजार भाइल रोटाभाइरस विरुद्धको खोप ‘रोटारिक्स’ काठमाडौँ आईपुगेको छ ।अब यो खोप एक साता भित्र सातवटै प्रदेशमा पठाईसक्ने र बढीमा असारको अन्तिमसाताभित्रै यो खोप सञ्चालनमा ल्याउने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको योजना छ ।
‘आज खोप काठमाडौँ आईपुग्यो । अब एक साता भित्र सातवटै प्रदेशको स्टोरमा पुग्नेछ । त्यहाँबाट जिल्लाहरुमा वितरण हुनेछ । त्यस लगत्तै हामी खोप कार्यक्रम शुरु गर्छौं, ठ्याक्कै मिति तय भएको छैन् तर असार महिनामै शुरु हुन्छ,’ परिवार कल्याण महाशाखा अन्तरगर्तका खोप शाखा प्रमुख डा. झलक गौतमले भने ।उनले यो खोप जन्मेको ६ हप्ता र १० हप्ता गरी शिशुमा दुईपटक दिइने बताए । ‘यो खोप बच्चाहरुमा मुखबाट दिइन्छ । एक पटकमा १.५ एमएल दिइन्छ र यो खोप स्वयंसेविकाले होइन स्वास्थ्यकर्मीबाट दिईन्छ,’ उनले स्पष्ट पारे ।
कान्ति बाल अस्पतालमा सन् २०१० देखि २०१६ सम्म पखाला लागि भर्ना भएका ५ बर्ष मुनिका बालबालिकामा अध्ययन् गर्दा ३८ प्रतिशतमा रोटा भाइरस देखिएको थियो । पानी जस्तो पातलो पखला लगाउने र बच्चाहरुलाई जलवियोजन गराई तत्काल ज्यान जाने अवस्था आउने गर्दछ ।नेपालमा बर्षमा ६ लाख २० हजार बालबालिका जन्मने गर्दछन् । ‘त्यसैले बर्षमा ६ लाख २० हजार भाइल खोप आवश्यकता पर्दछ । अहिले ३ लाख २४ हजार भाइल आइपुगेको छ । अब नियमित रुपमा यो खोप अन्य खोप जस्तौ आउँछ,’ डा गौतमले भने ।
सरकारले रोटाभाइरस विरुद्धको खोप सन् २०१६ देखि नै शुरु गर्ने घोषणा गरेको थियो । तर खोपको उपलव्धतामा समस्या हुँदा यो खोपको शुरुवात झण्डै ४ बर्ष पछि हुन गएको छ ।सरकारको नियमित खोप कार्यक्रममा अहिलेसम्म वीसीजी, प्यान्टाभ्यालेन्ट (डीपीटी, हेपाटाइटिस बी, हिब) पोलियो, पीसीभी, जेई, एमआर र एफआईपीभी खोप छ । रोटा शुरु भएपछि नियमित खोपमा १२ वटा पुग्दछ ।