काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसदमा प्रस्तुत केही विधेयकहरु संविधान सम्मत नभएकाले स्वीकार नगरिने बताएको छ ।
संविधानको भावना र मर्मअनुकुल नदेखिएका त्यस्ता केही विधेयकमाथि प्रतिपक्षी सांसदहरुले आफ्ना फरक मत राखे पनि सरकार यसप्रति संवेदनशील नभएको भन्दै काङ्ग्रेसले त्यस्ता विधेयक अस्वीकार्य रहेको बताएको छ ।
कांग्रेस आपत्ति जनाउँदै आएका त्यस्ता केही विधेयकहरुमा संसदको सम्बन्धित विषयगत समितिमा छलफलका क्रममा रहेका ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’, ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लगायतका रहेका छन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका अनुसार त्यस्ता विधेयकहरुले नेपालको संविधानको प्रस्तावना, प्रावधान र व्यवस्थाको मर्मलाई उल्लङ्घन गर्ने गरी ल्याइएको छ । कांग्रेसले यी विधेयकहरु पारित गर्नका लागि प्रस्ताव गरिनु अघि छलफल र आवशयक हेरफेर जरुरी भएको बताएको छ । कांग्रेस संसदीय दलको वैठकले यी विधेयकहरुलाई तत्काल सच्याउन माग पनि गरेको छ ।