वीरगञ्ज । लकडाउनका कारण घरमा थुनिएर बस्नु परेका नागरिकले अहिलेको अवस्थामा कर तिर्न नसक्ने भन्दै सम्पूर्ण कर मिनाहा गर्न जनता समाजवादी पार्टी वीरगञ्ज महानगर समितिले माग गरेको छ ।कर मिनाहा गर्नु पर्ने माग गर्दै समितिका अध्यक्ष लियाकत अलिको नेतृत्वमा वीरगञ्जमा शुक्रबार बिरोध प्रदर्शन भएको छ । वीरगञ्जको विर्ताबाट सुरु भएको विरोध र्याली घण्टाघर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
अर्थमन्त्री राजिनामा दे, जनता मार्न पाईँदैन, विशुली शुल्क, नागरिकले तिर्नु पर्ने कर मिनाहा गर लगायतका नारा लगाउँदै वीरगञ्ज परिक्रमा गरेका थिए । लकडाउनका कारण नागरिक अहिले घरभित्रै थुनिएको र अहिले आम्दानीको माध्यम पनि नभएकाले सबै खाले शुल्क मिनाहा गर्नु पर्ने उनीहरुको माग छ । कोणसभामा बोल्दै समितिका अध्यक्ष अलिले सरकारले नागरिकका समस्यालाई यथाशिघ्र सम्बोधन नगरे कडा संघर्षमा उत्रिने चेतावनी दिए ।
र्यालीपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र पठाएका छन् । र्यालीमा जनता समाजवादी पार्टीका उपाध्यक्ष मदन गुप्ता, वडा नम्वर ३ का वडाध्यक्ष बैजुलाल श्वर्णकार, उमेश सहनी, अफराेज आलम, सगिर अलि लगायतकाे सहभागिता रहेकाे थियाे ।