वीरगञ्ज: प्रहरीले एसिड प्रहार घटनाका मुख्य आरोपी भनिने माजिद मियाँ हजामलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका १६ मिथिलानगरमा (नारायणी अस्पतालकै) पछाडी एक निर्माणाधिन घरमा लुकिछिपी बसेको अवस्थामा शुक्रबार राति अपराध नियन्त्रण टोलीले उनलाई पक्राउ गरेको हो ।
माजिदका मामा रैफुल आलमले घटना पश्चात माजिदलाई निर्माणाधिन घरमा लुकाई राखेका प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय वीरगञ्जले जनाएको छ ।
रैफुलले माजिदलाई फोन गरी भगाएका थिए एक प्रहरी अधिकारीले भने, ‘शंकाको आधारमा रैफुललाई अस्पतालबाटै पक्राउ गरेका थियौं ।’ पक्राउ परका रैफुलसँग सोधपुछका क्रममा माजिदलाई लुकाएको बताए । सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका माजिद नाबालिक रहेका कारण उनलाई सार्वजनिक नगरिएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
प्रेम प्रस्ताव अस्वीकार गरेपछि माजिदले योजना बनाएर मुस्कान माथि शुक्रबार बिहान स्कुल गइरहेको बेला एसिड प्रहार गरी फरार भएका थिए ।