यात्रु ओसारपसारमा रोक, गृहले गर्यो ७७ वटै जिल्लामा परिपत्र
वीरगंज संजाल
१५ बैशाख २०७७, सोमबार १४:२१
२५९३
काठमाडौं | सरकारले अलपत्र परेका यात्रु ओसारपसारमा रोक लगाएको छ ।
गृह मन्त्रालयले अत्यावश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन तथा यात्रु ओसारपसारलाई पूर्ण रुपमा रोक लगाएको हो । यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीका अनुसार उपत्यकासहित विभिन्न जिल्लाबाट स्थायी थातथलो जाने यात्रुलाई स्थानीय तहबाट गरिँदै आएको उद्धार अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाइएको हो ।
सह–प्रवक्ता अधिकारीले जुनसुकै हालतमा लकडाउनलाई कडाइका साथ लागू गर्न निर्देशन आएको र सोहीअनुसारको व्यवस्था मिलाउन सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको बताए ।
पछिल्लो एक सातायता उपत्यकासहित विभिन्न जिल्लामा अलपत्र परेका आफ्नो पालिका मातहतका यात्रुलाई नगरपालिका तथा गाउँपालिका र जनप्रतिनिधिहरुको पहलमा घर पठाउने व्यवस्था गरिँदै आएको थियो ।
साथै गृह मन्त्रालयले अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई पास वितरण नगर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पुनः निर्देशन दिएको छ ।