इँटाभट्टामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु
वीरगंज संजाल
९ बैशाख २०७७, मंगलवार १७:२०
३९४७
जनकपुरधाम | धनुषाको विदेह नगरपालिकामा इँटाभट्टामा कार्यरत एक मजदुरको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४० वर्षीय भारतीय नागरिक सुक्ता नदाफ रहेका छन् । विदेह नगरपालिका वडा नम्बर–३ जोगियास्थित भगवत्ती इँटा उद्योगमा कार्यरत नदाफले सोमबार साँझ भट्टामै बिजुलीको तार जोड्ने क्रममा नाङ्गो तारमा छुँदा करेन्ट लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए ।
नदाफको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएपछि इँटा भट्ठाका सञ्चालक अनिफ नदाफ र अजिम मंसुरीले उनको शवलाई प्रहरीलाई कुनै जानकारी नै नगराई भट्ठामै गाडेका थिए ।
घटनाको सम्बन्धमा प्रहरीले जानकारी पाएपछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएका छन् भने इँटाभट्टाका सञ्चालकद्वय नदाफ र मंसुरीलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाइएको डीएसपी कार्कीले जानकारी दिए ।