क्वारेन्टाइनमा रहेका वडा अध्यक्षको आरडीटी रिपोर्ट पोजेटिभ
वीरगंज संजाल
८ बैशाख २०७७, सोमबार १४:२०
५३७३
जनकपुरधाम | धनुषामा गत चैत २४ गतेदेखि क्वारेन्टाइनमा रहेका एक वडा अध्यक्षको आरडीटी टेष्टको रिपोर्ट पोजेटिभ आएको छ ।
चैत २२ गते भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिकाका एक जना वडा अध्यक्षलाई २४ गतेदेखि क्वारेन्टाइनमा राखिएको र आज (सोमबार) आरडीटी परिक्षण गर्दा पोजेटिभ रिजल्ट आएको हो ।
एक महिना बसेर भारतको मधुवनीबाट चैत २२ गते दिउँसो घर फर्केपछि स्थानीयको दवावमा उनलाई क्वारेन्टाइनमा राखिएको थियो । इलाका प्रहरी कार्यालय खजुरीमा स्थानीयले वडा अध्यक्षलाई भारतबाट आएको जानकारी गराएपछि प्रहरीको सक्रियतामा उनलाई क्वारेन्टाइनमा राखिएको जनकनन्दनी गाउँपालिकाका प्रशासकिय अधिकृत कुलानन्द झाले जानकारी दिए ।
उनलाई सोहि गाउँपालिका वडा नं.४ स्थित उच्च माध्यमिक विद्यालय खजुरीमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका ९ जनाको परिक्षण गर्दा ८ जनाको नेगेटिभ देखिएको र वडा अध्यक्षको रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई थ्रोट स्वाब परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।