रसुवा | सवारी चालकमाथि कुटपिट गरेको भन्दै कन्टेनर चालकहरुले आज रसुवा बन्दको आह्वान गरेका छन् । मंगलबार सामान्य कारणमै कन्टेनर चालकमाथि प्रहरीले कुटपीट गरेकाे भन्दै उनीहरुले रसुवा बन्दको आह्वान गरेका हुन् । अहिले चालक र कुटपीट गर्ने दुवै प्रहरीलाई सोधपुछ भईरहेको रसुवाका प्रहरी नायव उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले जानकारी दिएका छन् ।
दुई प्रहरीले एक चालकलाई लात्ती र मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको आलोचना भइरहेको छ ।
घटनाको सम्बन्धमा स्थानीयले गएराति नै प्रहरी बिरुद्ध प्रदर्शन गरेका थिए । उता प्रहरीले भने भिडियो सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीले विज्ञप्ती निकालेको छ । सार्वजनिक भएको भिडियो चालकलाई नियन्त्रणमा लिने क्रममा खिचिएको भएकाले यसमा सत्यता नरहेकाले सोधपुछ पछि मात्रै सत्य तथ्य पत्ता लाग्ने प्रहरीको भनाइ छ ।
विज्ञप्तिमा घटनाबारे छानबिन गरी दोषी उपर कार्वाही गरिने भनिएको उल्लेख गरिएको छ । तर, कुटपिट गर्ने प्रहरीको नाम सार्वजनिक गरिएको छैन । यदी घटनामा प्रहरीको गल्ती भए उनीहरुलाई पनि कार्वाहीको दायरामा ल्याउने प्रहरी नायव उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बाएका छन् ।