बर्दिबास | प्रदेश २ मा ३ सय ४९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। भारत, कतार, साउदी अरेबिया, मलेसियालगायत देशबाट आएकालाई कोरोना संक्रमणको आशंकामा प्रदेशभरिका ८६ वटा क्वारेन्टाइनमा राखिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले बताए।
सप्तरीमा १ सय ४७, सिरहामा ३४, धनुषामा २८, सर्लाहीमा ५७, रौतहटमा ६९, बारामा १४ जना गरि ३ सय ४९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। ‘७ जनाको स्वाब संकलन गरेर काठमाडौं पठाएका थियौं,’ उनले भने,‘सातै जनाको रिपोर्ट नेगेटिभ आएको छ।’ १५ दिनसम्म कोरोना संक्रमणको आशंका गरिएकालाई क्वारेन्टाइनमा राखेपछि मात्र घर पठाइने उनले बताए। संक्रमण फैलिन नदिन घरपरिवारसँग टाढा राखेर बाहिरबाट आएकाको स्वास्थ्य अवस्थाबारे विशेष निगरानी गरिएको छ।
कोरोना संक्रमित र आशंकितलाई राख्न प्रदेश २ मा १ हजार ९ सय ९६ बेड व्यवस्थापन गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेश २ कोरोना संक्रमणको उच्च जोखिममा छ। धनुषा, महोत्तारीबाट खाडी मुलुकमा श्रम गर्न जानेको संख्या अत्यधिक छ। विदेश आउजाउ गर्नेको संख्या पनि धेरै छ।
प्रदेश २ का ८ वटै जिल्लाको सीमा भारतसँग जोडिएको छ। सीमा नजिकैका स्थानीयको पारिवारिक सम्बन्ध पनि भारततिर छ। रातारात भारतबाट यता प्रवेश गर्नेको संख्या पनि धेरै नै छ।
कोरोनाको जाँच प्रदेश २ मा अहिलेसम्म सुरु भएको छैन। सरकारले वीरगन्जको नारायणी अस्पताल, प्रादेशिक अस्पताल जनकपुरधाम र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजविराजमा कोरोना परीक्षणका लागि ल्याब राख्ने निर्णय गरिसकेको छ।
‘हामीले कोरोना जाँचका लागि शंकास्पदको घाँटीको स्वाब संकलन गरेर काठमाडौं पठाउँदै आएका छौं,’ वरिष्ठ प्रशासक झाले भने,‘दुई–तीन दिन भित्रमा प्रदेशका तोकिएका अस्पतालमा कोरोना जाँचको ल्याब सेटअप भएर सुरु हुन्छ।’ उपकरणको व्यवस्था भइसकेको उनले बताए।