मलंगवा | सर्लाहीको लालबन्दी नगरपालिका-६ लकडाउन पछि रोकिराखेको बसमा मंगलबार आगलागी भएको छ । स्थानीय पद्म बहादुर कटुवालले लकडाउनपछि एक सातादेखि जनवादी चौकबाट करिब सय मिटर दक्षिण साइड लगाएर राखेको ना ६ ख ७१६९ नं. को बसमा बिहान साँढे १ बजेतिर अचानक आगलागी भएको हो ।
लालबन्दीबाट नारायणघाट चल्ने भैरहवा ट्राभल्समा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिएका छन् । आगलगीबाट करिब २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बसमा कसरी आगलागी भएको हो त्यो अहिले सम्म खुल्न सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आगोलाई स्थानीय बासिन्दा र प्रहरी मिलेर झण्डै एक घण्टापछि निभाएका थिए । यस्तै सोमबार मध्यरातमा सर्लाहीको गोडैता नगरपालिका ११, मा आगलागी भएको छ । स्थानीय मुनाई मण्डलको भान्साबाट सल्किएको आगोले उनको घर तथा घरभित्र रहेका सम्पूर्ण सरसामान र छिमेकी कसिन्द्र मण्डलको घर तथा घरभित्र राखिएका सरसामान जलेर नष्ट भएको छ ।आगलागीबाट ७ लाख ३० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।