विराटनगर |कोरोना संक्रमणको त्रास बढेसँगै अहिले विदेशबाट फर्कनेहरुको खोजी कार्य भइरहेको छ । मोरङमा रोजगारीका लागि विदेशमा रहेका ८ सय भन्दाबढी चैतमा घर फर्केको पाइएको छ ।
उनीहरु मध्ये ८५ जनालाई सम्बन्धीत स्थानीय निकायले टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइन र केहीलाई आफैले स्थापना गरेको क्वारेन्टाइनमा राखेर निगरानी गरेका छन। उनीहरु मध्ये अधिकांश क्वारेन्टाइनको अवधी पार गर्दा कुनै संकेत देखा नपरेपछि घर फर्किएका छन्।
यो अवधिमा विदेशबाट घर फर्कनेमा सबै भन्दाबढी सीमावर्ती विराटनगर महानगरपालिकामा २ सय ८० र अर्को सीमावर्ती रतुवामाई नगरपालिकामा १ सय २१ जना छन्।
विराटनगरमा विदेशबाट फर्केका मध्ये ५१ जनालाई सेनाको टाँडीस्थित क्वारेन्टाइनमा र चार जनालाई महानगरपालिकाको बैजनाथपुर क्वारेन्टाइनमा राखिएको महानगर प्रमुख भीम पराजुलीले बताए।उनका अनुसार टाडीमा राखिएका ५१ मध्ये अधिकांशमा निश्चित अवधिमा कोरोनाको कुनै पनि लक्षण देखा नपरेपछि घर फर्किएका छन्।
सीमावर्ती रतुवामाईमा फर्कने मध्ये सयजना भारतबाट र अन्य २१ जना विदेशबाट आएका छन्। नगर प्रमुख रविन राईका अनुसार उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीसहित सबै होम क्वारैन्टाइनमा छन्।
बेलवारी नगरपालिकामा ८५ जना विदेशबाट आएका छन्। ती मध्ये एक भारतीय र एक चिनियाँ नागरिक छन्। भारतीयलाई सेनाको क्वारेन्टाइन र चिनियाँलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखेर स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोनाको कुनै संकेत देखा नपरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए। उनका अनुसार बाँकी सबै होम क्वारेन्टाइनमा छन्।
केराबारी गाउँपालिकामा ५० विदेशबाट घर फर्केका छन। उनीहरु सबै घरमै रहेको पालिका प्रमुख रोहित कार्कीले बताए। पथरी नगरपालिकामा विदेशबाट फर्केका २० जना मध्ये १० जनालाई सेनाको क्वारेन्टाइनमा राखिएको र अरु घरमै रहेको नगर प्रमुख दिलिप राईको भनाइ छ।
उर्लावारी नगरपालिकामा अहिले सम्म विदेशवाट फर्कनेमा ७ जना फेला परेको नगरप्रमुख खड्ग फागोले बताए। उनका अनुसार विदेशबाट फर्केका दुइसहित स्थानीय ३ जनालाई सेनाको क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा कसैमा पनि कोरोनाको लक्षण देखिएन।
सीमावर्ती कटहरी गाउँपालिकामा ४७, जहदामा १५, धनपालथानमा २४, रंगेली नगरपालिकामा ४, सुनवर्सी नगरमा १३ जना स्थानीयवासी भारत लगायत अन्य मुलुकवाट फर्किएको पाइएको छ।
उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा आफ्नै घरको क्वारेन्टाइनमा रहेको सम्बन्धीत स्थानीय तह प्रमुखले बताएका छन्।
भारतको केरलाबाट चारजना रंगेली फर्किएको पाइयो। उनीहरुको स्वास्थ्य परीक्षण पछि घरकै क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र सुरक्षा निकायको निगरानीमा राखिएको नगर प्रमुख दिलिप बगोडियाले बताए।
त्यसैगरी बुढीगंगा गाउँपालिकामा २३, ग्रामथानमा १७ सुन्दर हरैचा नगरमा २७ जना स्थानीय नागरिक विदेशबाट फर्किएर आएको पाइएको छ। उनीहरु सबैको स्वास्थ्य परीक्षण पछि होम क्वारेन्टाइनमा छन्।