वीरगञ्ज । श्रीपुर स्थित विद्यापिठ स्कुलमा सोमबार बिहान तरकारी बजार राखियो । वीरगञ्ज महानगरपालिकाले वडाका उपभोक्तालाई वडामै बजार राखेर तरकारी दिने भनेपछि त्यहाँ बजार राखिएको थियो ।
तर त्यहाँ सोमबार बिहान ७ बजे पुग्दा कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका कुनैपनि उपाय अपनाइएको थिएन ।
सरकारले अत्यावश्यक तरकारी खाद्यान्न बिक्री गर्दा पनि ३ फिटको सामाजिक दुरी कायम गर्न भनेको छ । पसल अगाडि चुनाले गोलो घेरा लगाइएको भए पनि उपभोक्ता लाइनमा थिएनन् ।
मानिसहरु एउटै पसलमा सामान्य दिनमा जस्तो झुम्मिएर तरकारी किनबेच गरिरहेका थिए । तरकारी पसल ९ बजेसम्म खुल्ने नियम बनाइएको भए पनि वीरगञ्ज–११ को तरकारी बजार बिहान साढे ७ बजे नै प्रहरी पुगेर हटाइदियो ।
तरकारी व्यापारी विरू मेहताले चुना हालेर लाइन बनाएको भएपनि उपभोक्ताले पालना नगरेको बताए । उनले भने ‘हामीले भनेको मान्दैनन् के गर्ने ?’
अर्का व्यापारी सन्देशकुमार मालीले उपभोक्तालाई भनेपछि मात्रै लाइनमा बस्ने गरेको बताए । ‘एक जना लाइन लगाउनका लागि नै बस्नुपर्ने अवस्था छ’ उनी भन्छन् ‘तरकारी बेच्नु कि लाइन लगाउनु भएको छ ।’
तरकारी किन्न आएका लक्ष्मण प्रसादले उपभोक्ता स्वयं सचेत नहुँदा भीड देखिएको बताए ।
भीडभाड बढी देखिएका कारण वीरगञ्जको माइस्थानस्थित तरकारी बजार मीनाबजार पनि सोमबारदेखि बन्द गरिएको छ ।
दिनभर खोल्नुपर्छ : मेयर सरावगी
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले उपभोग्य वस्तुको पसल दिनभर खोल्ने व्यवस्था भए भीड नहुने बताए । ‘सीमित समयका लागि पसल खोल्दा भीड बढ्छ, जति बढी समय खोल्योे, त्यति नै भीड कम हुन्छ’ उनले भने ।
स्थानीय प्रशासनले व्यवस्थित गराउन सहयोग नगरेको मेयर सरावगीले बताए ।