मलंगवा |कोरोना भाइस (कोभिड-१९) संक्रमणबाट बच्नका लागि सबैजना घरभित्र बसेपनि सर्लाही मलंगवाका राजनारायण यादव श्रीमतीसँगै खेतमा मसुरो उखाल्नमा व्यस्त छन् । मसुरो, चना, मटर, केराउ लगायतका दलहनबाली खेतमा सुक्दै गएपछि यादव ४ दिनदेखि श्रीमतीसँगै काम गर्दै आएका छन् । उनीजस्तै अरु किसान अहिले दलह नबाली उखाल्नमा व्यस्त रहेका छन् ।
अहिले बालीहरु उखाल्न सकिएन भने खेतमै सुकेर जाने चिन्ताले किसानलाई सताउन थालेको छ । बाली सुक्न थालेपछि कोरोनाको प्रवाह नगरी अहिले किसान खेतमा जाने गरेको छ । कोरोनाको डरले मजदुर नपाएपछि आफै बाली उखाल्न लागेको राजनारायणले बताए। रोगको डर लागेपनि मास्क लगाएर खेतमा पनि काम गर्दै आएको उनले बताए । बाली घरमा ल्याएनौं भने वर्षभरी के खाने भन्ने चिन्ता छ । परिवारमा ६ जना छौं । ‘खेतकै कमाइले परिवार पाल्दै आएका छु,’ राजनारायणले भने, ‘बाली खेतमै नष्ट भयो भने वर्षभरी भोकै बस्नु पर्छ ।’
ज्यानलाई जोखिममा राखेर भएपनि खेतमा बाली उखाल्न आउनु परेको छ । एकले १४ कट्ठामा दलहन बाली लगाएका छन्। सबै उखालेपछि थ्रेसरमा कटाउनु पर्छ । बाली भित्रियाउने अझै एक हप्ता लाग्छ। मलंगवाकै जलेश्वरी देवी यादवले अहिले किसानलाई एक महिना फुर्सद नहुने बताएकी छिन् । मसुरो, चना, मटर, केराउ लगायतका बाली भित्रियाउने बितिकै गहुँ काट्ने समय आउँछ । त्यसपछि रहर काट्नु पर्ने समय हुन्छ ।
घरभित्र लकडाउन भएर बस्यो भने बाली पुरै सखाप हुन्छ । दलहन बाली खेतमै झर्ने गरेको छ । ‘एक हप्ताभित्र बाली भित्रियाउनुपर्ने हुन्छ, ‘जलेश्वरीले भनिन् , ‘होइन भने वर्षभरी मुखमा दाल पर्दैन् ।’
‘अहिले कोरोनाको चिन्ताभन्दा बढी पेटको चिन्ता छ । दलहन बाली थोरै जमिनमा लगाएको छु । तर, गहुँ धेरै छ । लकडाउन लम्बियो भने कसरी गहुँ काट्ने त्यो चिन्ताले झन सताउन थालेको छ । मजदुर पनि घरबाट निस्कन सकेको छैन्,’ दलहनबाली भित्रियाउने समयमा लकडाउन भएपछि खेतमै बाली सुक्न थालेको जलेश्वरीले दुखेसो पोखिन् ।