छिमेकी देश चीनबाट सुरु भएको कोरोना भाइरसको आतङ्कले अहिले युरोप र अमेरिकालगायत संसारलाई सताएको छ । विश्व प्रतिरक्षात्मक र यो भाइरस आक्रामक अवस्थामा रहेको यस विषम परिस्थितिमा नेपालले पनि गर्नुपरेको ‘लकडाउन’को कारण आ–आफ्नो घरभित्र बस्नुपर्ने अवस्था सिर्जना भएको छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयावह रहेको बताइरहँदा चैत ११ गतेदेखि चैत्र १८ सम्म नेपालमा पनि ‘लकडाउन’ सुरु भएको छ । तर स्थितिमा आशातित सुधार हुन नसकेमा यो लम्बिने प्रबल सम्भावना भएकोले आफ्नो कार्यतालिकामा परिवर्तन गरी आफू र आफ्ना बालबालिकालाई घरमै ज्ञान, सीप र सिर्जनात्मक काम सिक्न र सिकाउन सकिन्छ ।
कोरोना भाइरसबाट सुरक्षित रहन सजग र सतर्क रहनु नै नेपाल र नेपालीका लागि सबैभन्दा उत्तम विकल्प हो । ‘लकडाउन’मा परिवारका सदस्यहरु एकै ठाउँमा रहने र प्रशस्त समय हुने भएकोले यो फुर्सदको समयमा अभिभावक तथा उनीहरुका बावुनानीहरुले गर्नुपर्ने तथा गर्नसक्ने केही कामहरुलाई छोटोमा यहाँ चर्चा गर्न खोजिएको छ । राम्रो र असल सोचे मानिस असल बन्छ, नराम्रो र खराब सोचे खराब बन्छ । त्यसैले संकटको यो घडीमा बालबालिका, घरपरिवार र समाजलाई स्वस्थ र तन्दुरुस्त राख्न तथा जीवनोपयोगी सीप सिक्न र सिकाउन यो समय धेरै उपयोगी हुन सक्छ ।
नकारात्मक भावना हटाएर सकारात्मक सोचका साथ अगाडि बढ्न यो समय उपयोगी हुन सक्छ । Norman Vincent Peale ले भनेको भनाइ ‘Change your thoughts and you can change your world’ ले विचार, भावना र कल्पना अनि योजना असल भयो भने सबै प्रकारका समस्या, नकारात्मक अवस्था, विपत्ति र महामारीमा पनि सकरात्मक नतिजा निकाल्न सकिन्छ भन्ने बुझिन्छ । यो अवस्थामा घरपरिवारका सदस्य तथा विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षासँगै कतिपय सीप विकास तथा शैक्षिक उपलब्धिका कामहरु सिकाउन सकिन्छ ।
– कोरोनाबारे विश्व स्वास्थ्य सङ्गठनको आधिकारिक जानकारीमात्र बालबालिकासँग शेयर गर्ने । – कोरोनाबारे उचित भिडिओ देखाउने र रेडियो समाचार हरेक बेलुकी सुनाउने । – अनावश्यक हल्ला र गलत सूचना तथा अफवाहबाट अविचलित बनाउन सन्तुलित भूमिका निर्वाह गर्ने । – स्वास्थ्यसम्बन्धी छलफल र व्यक्तिगत सरसफाइमा ध्यान दिने । – घरको फोहोर व्यवस्थापन र सरसफाइका लागि कार्य विभाजन गर्ने । – घरका कामहरु सँगै गर्ने । – वृद्धवृद्धाको स्याहारको लागि योजना बनाउने र त्यसमा बालबालिकालाई सहभागी गराउने । – घरबाट निस्केर बाहिर भिडभाडमा जान नदिने । – घरको रङ्गरोगन, छेस्किनी र चुकुल आदि मर्मत सम्भारको काम गर्ने । – फुलबारी, बगैँचा, गमला र करेसाबारीको काम गर्ने । – घरायसी काम मिलेर कुन दिन र कुन समयमा कसले गर्नेबारे निर्धारण गर्ने । – बिहानदेखि बेलुकासम्मको दैनिक कार्ययोजना बनाउन लगाउने, सबैले देख्ने ठाउँमा टाँस्ने र त्यसको नियमित प्रयोग गर्ने गराउने । – घरमा भएका पुस्तकहरु जम्मा गरेर सानो पुस्तकालय बनाउने । – स्कुल र कलेज पढ्नेहरुले घरमा भएका पुस्तकहरु पढ्ने तालिका र पढेको वा सिकेको कुरा साटासाट गर्ने । – कोरोना भाइरस के हो र यसबाट कसरी बच्ने भन्नेबारे सिक्ने, सिकाउने । – माथिल्ला कक्षामा पढ्ने छोराछोरीले साना कक्षाका बालबालिकालाई सिकाउने, घुलमिल हुने वातावरण बनाउने – हरेक सदस्यका असल र खराब पक्षका बारेमा लिखित वा मौखिक सल्लाह लिने र दिने । – अनुमानित वा सालाखाला वर्षभरि गर्ने र गर्न सकिने कामको सूची वा वार्षिक कार्ययोजना बनाउने । – वार्षिक कार्ययोजना र कार्यक्रमहरुलाई समयबद्ध बनाउन लगाउने । – वार्षिक रुपमा प्रयोग गर्न मिल्ने शैक्षिक सामग्रीको निर्माण र भण्डारण गर्न लगाउने । – कम्प्युटर र ल्यापटपको प्रयोग गरी अनलाइन शिक्षा, आइसिटी र अन्य प्रोग्राम सिक्ने र सिकाउने । – एन्ड्रोइड स्मार्ट फोन प्रयोग गरी शब्द भण्डार, व्याकरण र साहित्य सिक्ने सिकाउने । – कमजोर विषयमा टेलिकन्फरेन्स, इमेल र फोनका माध्यमबाट बालबालिकालाई सबल र सक्षम बनाउने । – शिक्षामा विज्ञान र प्रविधिको प्रयोगबारे घरायसी कार्यशाला चलाउने । – घरायसी काममा मनोरञ्जन र प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने – खेर गएका वस्तु र खेर जाने वस्तुहरुको प्रयोगबाट पुनः प्रयोगको लागि सीप सिक्ने र सिकाउने । – शिक्षाका सफ्टवेयरहरु सिक्ने सिकाउने र त्यसमा समय व्यवस्थापन गर्ने । – सिकाइ सुधारका लागि व्यक्तिगत योजना बनाउने । – पुराना प्रश्नहरु सङ्कलन गर्ने र समाधान गर्ने । – नेपालका भाषा, संस्कार, संस्कृति, पहिचान र इतिहासबारे जानकारी लिने दिने । – सामाजिक सम्बन्ध, भातृत्व, नैतिकता र आचारणबारे शिक्षा लिने दिने । – विद्यार्थीका लागि सामाजिक सञ्जाल तथा इन्टरनेटको प्रयोगबाट कक्षा सञ्चालन गर्ने – बालबालिकाको ज्ञान र शिक्षा प्राप्त गर्ने अवसरलाई विस्तार गर्ने । – खाना बनाउने, घरसफाइ गर्ने र लुगा धुने काममा सहभागी गर्ने गराउने । – अनलाइन, अफलाइन तथा भर्चुअल कक्षा र बाबुआमाको प्रत्यक्ष निगरानीमा सामाजिक सञ्जालमा कक्षा सञ्चालन र व्यवस्थापन गर्ने । – कार्यमूलक अनुसन्धान, परियोजना कार्य र घटना अध्ययनजस्ता क्रियाकलापमा बालबालिकालाई संलग्न गराउने । – घरभित्र खेलिने खेल खेल्ने, खेलाउने र मनोरञ्जनको अवसर लिने दिने । – अभिभावकहरुले पढेमा मात्रै बालबालिकाले पढ्ने भएकाले पुरानै भए पनि पत्रपत्रिका र कथाका पुस्तकहरु पढ्ने । – दिनभरि आफूले गरेका घरायसी र शैक्षिक कामको विवरण टिप्ने र परिवारमा प्रस्तुत गर्ने । – आउँदो सत्रमा हुने पढाइबारे अनलाइन, अफलाइन तथा सर्च इन्जिनहरुबाट खोजेर नोट बनाउने । – छोराछोरीलाई आवश्यकताका आधारमा साथीको समूहमा पठनपाठनका विषयमा भिडिओ च्याट गराउने । – बालबालिकालाई खेलकुद, गीत, सङ्गीत, टेलिसिरियल, चलचित्र, भिडिओ हेर्न टेलिभिजनको समय बनाउने । – बिहान उठ्नेदेखि राति सुत्नेसम्मको दैनिक कार्यतालिका बिग्रेमा बेला बेलामा सम्झाउने । – समयमा खाजा र खाना खाने ।