वीरगञ्जमा कोरोनाका जोखिम मात्रै छ त ?, अनी डेङ्गी नी ?
वीरगंज संजाल
१३ चैत्र २०७६, बिहीबार १०:३४
२३०७
वीरगञ्ज | कोभिड १९ अर्थात कोरोना भाईरसको जोखिम कम गर्न सरकारले मुलुकलाई लकडाउनमा राखेको छ । अत्यावश्यक बाहेकका सेवाहरु बन्द छन् । सर्वसाधारणलाई घरबाट बाहिर निस्कन बन्देज छ । घरमै बसौ भन्दै सामाजिक सञ्जालमा विभिन्न खालका सामाग्री सम्प्रेषित भएका छन् ।
कोरोनाको संक्रमण न्युन राख्न सामाजिक दुरी अत्यावश्यक रहेको विश्लेषकहरु भन्छन् । साथै मास्क तथा सैनेटाईजरको प्रयोग, सैनेटाईजर नभए साबुन पानीले हात धुँदा पनि संक्रमणको जोखिम न्युन हुन्छ । कोरोनाको संक्रमणबाट विश्वभरि ज्यान जानेको संख्या २१ हजार नोघेको छ ।
नेपालमा पनि कोरोना पोजिटिभ भएका ३ जना बिरामी भेटिएका छन् । जसमध्ये एक जना उपचार पछि घर फर्किएका छन् भने २ जनाको उपचार भईरहेको छ । कोरोना पोजिटिभका बिरामी भेटिएसँगै ग्रिन जोनमा रहेको एक मात्र राष्ट्रको धक्कु चकनाचुर भयो । केही दिन अघि कतारबाट आएको विमानमा सवार रहेका यात्रुहरुमा प्रायः कोरोनाको संक्रमण फेला पर्दैछ । उक्त विमानमा सवार सबै यात्रुहरुको स्वास्थ्य परिक्षण गर्न आवश्यक छ ।
वीरगञ्ज र यस आसपासको क्षेत्रमा पनि कोेरोनाको संक्रमण नहोस् भन्दै सर्वसाधारण लकडाउनको पुर्ण समर्थनमा छन् । कहिकतैँ लकडाउनको उल्लघंन गर्नेलाई कारबाही गरिएको पनि खबर छ । वीरगञ्जमा पनि कोरोनाको शंका लागेका केही व्यक्तिहरुलाई प्रशासनकै निर्देशनमा क्वारेन्टाईनमा राखिएको छ ।
नारायणी अस्पतालस्थित क्वारेन्टाईमा ५ जना, केडिया अस्पताल क्वारेन्टाईनमा २० जना तथा आयुर्वेदिक अस्पताल क्वारेन्टाईनमा ७ जना गरि कुल ३२ जनालाई क्वारेन्टाईनमा राखिएको छ । यी मध्ये अधिकांश विदेशबाट फर्किएकाहरु भएको जनाइएको छ । यसैबिच बुधबार कन्टेनरमा लुकिछिपी आएका ५२ जनाको स्वास्थ्य परिक्षण गर्दा कोरोना फेला नपरेको हुँदा सामान्य स्वास्थ्य जाँच पछि छाडिएको पर्साका प्रहरी नायक उपरिक्षक बिरेन्द्र साहीले जनाएका छन् ।
तर, वीरगञ्जमा कोरोनाका जोखिम मात्रै छ त ?
कोरोनाको जोखिम अवश्य पनि छ । यसमा कुनै शंका छैन । कोरोनाले यस किसिमले सबैको ध्यान आकृष्ट गरेको छ कि, अन्य रोगहरु नियन्त्रणमा कसैको ध्यान पुगेको देखिँदैन । डेंगु । यसलाई पनि डेंगु भाईरस भन्न सकिन्छ । ऐडेस नाम लामखुट्टेको टोकाईबाट सर्दछ । यसका लक्षण पनि कोेरोना जस्तै छन् । ज्वरो, टाउको दुख्ने जस्ता लक्षण यसमा पनि देखिन्छ ।
पछिल्लो समय वीरगञ्ज लगायत यस आसपासका क्षेत्रमा लामखुट्टेको संख्या तीब्र रुपमा बढेको छ । कोरोनालाई नियन्त्रण गर्दागर्दै यदि डेंगु नियन्त्रणका लागि आवश्यक पहल गरिएन भने यसले भयावह अवश्था निम्याउन सक्छ ।