वीरगज | कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि पर्साका ग्रामिण क्षेत्रका अधिकांश सडक , बजार र गाउहरु पनि सुनसान देखिएको छ । पर्साको पश्चिमी भेगमा पर्ने भिस्वा , बनजारी , जानकीटोला ,पोखरिया , सबैठवा ,पकहामैनपुर , लहावरथकरी लगायतका सडक तथा बस्तीमा मानिसहरु घर बाहिर न निस्किएपछि सुनसान देखिएको हो ।
कोरोना भाईरसबाट बच्न मानिसहरुको भिडभाड कम गर्न तथा नजिकको सम्पर्क नै हुन नदिन सरकारले आजदेखि लक–डाउनको घोषणा गरेपछि गा्रमिण बस्तीका जनता सचेत भई घर बाहिर निस्कन नसकेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट सबैठवाका प्रहरी निरीक्षक टिकाराम गौतमले जानकारी दिनुभयो ।
तर, बिहानपख केही स्थानमा लक–डाउन उल्लंघन गर्दै मानिसहरु घर बाहिर निस्किए पनि केही बेरपछि मानिसहरुको उपस्थिति पातलो बन्दै गएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो । प्रहरी निरीक्षक गौतमका अनुसार भारतबाट आउनेलाई सम्झाई–बुझाई गरी फर्काईएको छ । नाकाबाट भारतीयलाई नेपाल छिर्न नदिई प्रबेशमा पुर्ण रुपमा रोक लगाईएको छ ।
मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको स्वास्थ्य चौकी खेश्रहाका स्वास्थ्यकर्मी सत्रुधन गिरीले जानकारी दिनुभयो ।
लक–डाउन उल्लंघन गर्दै केहि मानिसहरु हिँडडुल गर्न थालेपछि ग्रामिण क्षेत्रको हरेक चौक चौक तथा बस्तीमा समेत प्रहरीले सम्झाइ बुझाइ गरेर घरभित्रै बस्न र कोरोना संक्रमणबाट जोगिन सुझाव दिएको प्रहरी निरीक्षक गौतमले बताउनुभयो ।
पकहामैनपुर गाउपालिकाले पनि लकडाउनको पुर्ण पालना गराउन गाउपालिका अन्तरगत १६ वटै गाउहरुमा पर्चापम्पलेट र माईकिंग समेत गरेको छ । कोरोना भाईरसबाट बच्न सरकारले लागु गरेको लक डाउनमा सबै जनताले साथ दिनुपर्ने लहावरथकरीका बुधिजिवी मकसुल अैसारीले बताउनुभयो । सरकारले जनताको जिउ ज्यानको रक्षा र कोरोना भाईरसबाट बच्न लक डाउन गरेर राम्रो कदम चालेको बताउनुभयो ।