पोर्चुगल । पोर्चुगलमा कार्यरत एक नेपाली नागरिकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनीसंगै काम गर्ने ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखेर परीक्षण सुरु गरिएको छ ।
पोर्चुगलको अल्र्गाभ फारो भन्ने स्थानमा रहेको एक कृषि फार्ममा कार्यरत ती नेपालीलाई भाइरस संक्रमणको पुष्टि भएपछि उनीसंगै फार्ममा कार्यरत अन्य ७४ नेपालीलाई पनि क्वारेन्टाइनमा राखिएको हो । ‘सेन्ट्रो डि साऊदे’ नामक अस्पतालले गरेको क्वारेन्टाइनको व्यवस्थापनमा सबै नेपालीलाई कडा निगरानीमा राखिएको बताइएको छ ।
पोर्चुगल बिदेशी नागरिक हेर्ने निकाय ‘स्ट्नजेरो फ्रन्टियर्स’ ले पनि कृषि फार्ममा कार्यरत एक नेपालीमा संक्रमणको पुष्टि भएपछि ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको पुष्टि गरेको छ । फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले पनि यो घटनाको पुष्टि गर्दै फारोमा रहेका विदेशीहरु माथि कडा निगरानी सुरु गरिएको बताएका छन् ।
पोर्चुगलमा हाल वैध अवैधरुपमा काम गर्ने नेपालीको संख्या ३० हजारको हाराहारीमा रहेको जनाइएको छ । पोर्चुगलमा पछिल्लो समयमा ३ सय ३१ जना कोरोना भाइरस कोभिड –१९ को भाइरसबाट संक्रमित भएका छन् भने यहाँ उच्च सतर्कता अपनाइएको छ । सडकमा मानिसको चहलपहल घटेको छ । पोर्चुगलवासीहरु दैनिक आवश्यक वस्तुको अभावमा पीडित समेत बनेका छन् ।
उता ८ हजारको हाराहारीमा नेपाली रहेको बेल्जियममा पनि कोरोना भाइरसको प्रभाव तीब्र बन्दै गएको छ । बेल्जियममा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ८५ पुगेको छ भने ५ जनाको मृत्यु भइसकेको छ ।