वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय मसिहानीमा मावि शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको छ । मावि राहत शिक्षक एक जना, प्रावि र निमावि शिक्षककै भरमा मावि सञ्चालनमा छ ।
विद्यालयमा ०६६ सालदेखि मावि तह र ०७५ सालदेखि प्लस टु शिक्षा संकायमा अध्यापन भइरहेको छ । कक्षा ९ देखि १२ सम्म २६४ जना विद्यार्थी अध्ययनरत छन् ।पालिकाले माविका लागि १० लाख र प्लस टु सञ्चालनमा लागि १२ लाख अनुदान दिएको छ ।
तर अध्यापन गराउनका लागि मावि तहमा विषयगत दरबन्दीका शिक्षकको अभाव छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बडईप्रसाद कुर्मीले शिक्षक माग गरेको तर सम्बन्धित निकायले नपठाइदिएको गुनासो गर्छन् । ‘निजी स्रोतले कतिदिन धान्ने ? दरबन्दीका शिक्षक हुँदा सरकारले पैसा दिन्छ भन्ने हो,’ उनले भने, ‘तर माग गर्दा गर्दै थाकिसकेका छौं । सुनुवाई नै भईरहेको छैन ।’
उनले शिक्षा मन्त्रालयमा दुईपटक पुगेर शिक्षक माग गर्दा समेत नपठाइएको बताए ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना अधिकारी दिव्या दवाडीले भने शिक्षक दरबन्दी मिलानको काम सकिएपछि विद्यालयमा यस्तो समस्या नदेखिने बताइन् । ‘मन्त्रालयले मापदण्ड बनाएर शिक्षक दरबन्दी मिलानको काम गरिरहेको छ,’ उनले भनिन्, ‘त्यसपछि विद्यालयमा शिक्षक अभावको समस्या हल हुन्छ ।’