भारत |भारतको ओडिशामा मंगलबार होली उत्सवपछि स्नान गर्ने क्रममा अलग–अलग घटनामा १५ जनाको डुबेर मृत्यु भएको छ ।कटकमा रहेका राज्य अग्निशमन विभागका डिप्टी फायर अधिकारी सत्यपीर बेहराले अहिलेसम्म १५ शव भेटिएको पुष्टि गरेका बिबिसी हिन्दीले जनाएको छ ।कटकको नेताजी नगर क्षेत्रमा रहने सुभम कुमार बेहरा र निशांत पाढ़ी होली खेलेपछि आफ्ना केही साथीहरुसँग नजिकैकै कुआखाई नदीमा नुहाउन गएका थिए । दुवैजना नुहाउने क्रममा डुबे ।
दुवैलाई नदीबाट बाहिर निकालेर एससीबी मेडिकल कलेज अस्पतालमा लगियो जहाँ डाक्टरले उनीहरुलाई मृत घोषित गरे । यस्तै रायगडा जिल्लाको गुणुपुरमा होली समारोहपछि केन्दुगुडा बाँधमा नुहाउन गएका तीनजना पानीमा डुबे ।उनीहरु मध्ये एकजनाको घटनास्थलमै मृत्यु भयो भने अन्य दुईजनालाई पदमपुर अस्पतालमा मृत घोषित गरियो । उनीहरु वरुण आचार्य, सुरेश आचार्य र अभिषेक कुमार रहेको प्रहरीले जनाएको छ ।अहिलेसम्म प्राप्त सूचना अनुसार भुवनेश्वरस्थित रंग बजार केनालमा एक, नियाली गाउँमा एक, परलाखेमुण्डीको महेन्द्रतनया नदीमा एक, रेढ़ाखोलको सुन्धीमुँडा केनालमा एक व्यक्तिको मृत्यु डुबेर भएको छ ।
यस्तै नीलगिरिको सीएडीमलमा एक, सालेपुरको चित्रोत्पला नदीमा एक तथा बारीपदाको जम्भीरामा एक व्यक्तिको डुबेर मृत्यु भएको छ । यसका साथै नबरंगपुरको इन्द्रावती नदीमा एक व्यक्तिको शव भेटिएको छ । जसको पहिचान भएको छैन ।कटकका जिल्ला कलेक्टर भवानी शंकर चयनीले यसलाई दुर्भाग्यपूर्ण बताएका छन् ।
उनले भने, ‘ जिला प्रशासनको तर्फबाट पूरा कोशिश हुन्छ कि होलीमा मानिसहरुलाई नदीमा जानबाट रोकौँ । अलग–अलग ढंगबाट मानिसहरुका लागि चेतावनी पनि जारी हुन्छ । तर फेरि पनि दुखद घटनाहरु भएका छन् । यस्ता घटना रोक्नका लागि जिला प्रशासनका साथसाथै मानिसहरुले पनि अधिक सचेत हुनुपर्छ ।’