बीरगञ्ज | बीरगंज महानगरपालिका वडा नं. २९ मा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । सो वडाको रतनपुर बस्ने मदन पंडितकी करिब १४ वर्षीय छोरी छटिया कुमारी आईतबार मृत फेला परेकी हुन् ।घरबाट एक किलोमिटर पर दक्षिणमा रहेको सिसौको रुखमा पासो लगाई झुण्डिएको अवस्थामा ती किशोरीको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस्तै, बीरगंज महानगरपालिकाकै वडा नं. १६ का एक जना व्यक्तिको पनि ज्यान गएको छ । सो वडाको भुटनदेवी मन्दिरस्थित रहेको मलखाद्य गोदाम नजिकैको बाटोमा अचेत अवस्थामा फेला परेका सोही वडाका ३० वर्षीय तबरेज आलमको ज्यान गएको छ ।अचेत अवस्थामा फेला परेका आलमलाई उपचारका लागि नारायणी अस्पताल ल्याइएकोमा उपचार हुन नपाउदैं ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पर्साले जानकारी दिएको छ । आलमको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।