वीरगंज | नयाँ पेट्रोलपम्प सञ्चालनको स्वीकृति फागुन महिनाभित्रै दिइने तयारी छ ।दस महिनाअघि आवदेन लिएको नेपाल आयल निगमले प्रक्रियागत छानबिन अन्तिम चरणमा पुर्याएको छ । निगमको छानबिन समितिले मापदण्डअनुसारका निवेदनको पहिचान गरिसकेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।
निगमले चलिरहेका पम्पहरू केही सुधार गर्ने र दुई वर्षअघि आवेदन खुलाएको नमुना पेट्रोलपम्पको प्रावधान यथावत् राखी नयाँ पम्पका लागि नयाँ विनियमावली ल्याएर आवेदन खुलाएको हो । नेपालमा हाल एक हजार पाँच सय पम्प छन् । एक हजार २५ वटा नयाँ आवेदन परेका छन् । नयाँ सबैले इजाजत पाए भने पम्पको सङ्ख्या दुई हजार पाँच सय पुग्ने छ ।यसको औचित्यबारे प्रवक्ता गोइतले भने, ‘पाँच वर्षअघि पेट्रोल डिजेलको माग जति थियो अहिले त्यसको दोब्बर छ । हामीले पाँच वर्षमा खुला गरेका छौँ, सवारीसाधनको वृद्धि भएको छ ।’ उनले सहरोन्मुख गाउँका घरघरमा मोटरसाइकल रहेको तर पेट्रोल हाल्न सदरमुकाम आउनुपर्ने बाध्यता रहेको अवस्थामा पम्प सञ्चालनको सम्भावना र आवश्यकता महसुस गरी आवेदन खुला गरेको बताए।
तर पेट्रोलियम व्यवसायीले भने यति धेरै पम्प थप्न नपर्ने जनाएका छन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन राष्ट्रिय महासङ्घका अध्यक्ष लीलेन्द्र प्रधानले भइरहेका पम्पमध्ये ५६ प्रतिशतले पूरा कारोबार गर्न नपाएको बताउँदै अब हजार पम्प थपिँदा के हुन्छ ? भन्ने प्रश्न गरे। उनले बैङ्क र बीमा कम्पनी मर्जरमा गइरहेका बेला थप पम्पको औचित्य देखिएको बताए।तर आवश्यकता रहेका स्थानमा पम्प दिनुपर्ने उहाँले बताउनुभयो । निगमले हतारमा निर्णय गरेको र त्यसको भार उपभोक्तालाई पर्ने उनको दाबी छ । गोरखापत्र दैनिकमा खबर छ ।