वीरगञ्ज । मकवानपुरको भीमफेदी गाउँपालिका–१ टौवासस्थित खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा एक पुरुषको ज्यान गएको छ ।
मृतकको पहिचान पर्साको वीरगञ्ज महानगरपालिका–५ निवासी ४५ वर्षीय पुरुषोत्तम शर्माको रूपमा भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामु अर्यालका अनुसार शर्मा आफ्ना साथीहरूसँग इभी गाडी रिजर्भ गरी पिकनिक मनाउन टौवास पुगेका थिए ।
पिकनिकपछि खोलामा नुहाउन गएका बेला अचानक पानीको बहाव बढेपछि शर्मालाई खोलाले बगाएको प्रहरीले जानेको छ ।
उनलाई खोलाले करिब ४०० मिटर तल बगाएर लगेको अवस्थामा फेला पारिएको र घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
घटनाले पिकनिकका लागि रमाइलो गर्न गएका शर्मा र उनका साथीहरूलाई ठूलो दुखदायी बनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको छ ।