चीनमा रहेका नेपालीलाई तत्काल फिर्ता गरेर कहाँ राख्ने ? : स्वास्थ्य मन्त्रालय
वीरगंज संजाल
१७ माघ २०७६, शुक्रबार ०५:५०
३७११
काठमाण्डौ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ ।
बिहीबार भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताउनुभएको हो ।
कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिका, अष्ट्रेलिया लगायतका देशहरुले आफ्ना नागरिक फिर्ता बोलाइरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले यस्तो बताउनुभएको हो ।
अध्ययनका क्रममा वा कामको सिलसिलामा चीन गएका नेपालीहरुमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताउनुहुँदै उहाँले अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था नभएको तर यसका लागि आवश्यक तयारी भने गरिरहेको बताउनुभयो ।
‘फिर्ता बोलाउने तयारी छ । तर अहिले नै बोलाइहाल्नुपर्ने अवस्था छैन । फिर्ता बोलाएपछि अमेरिका लगायतका देशहरुले विभिन्न टापुमा लगेर १५ दिनका लागि राखेको छ । हामीले फिर्ता बोलाएपछि कहाँ राख्ने भन्ने विषयमा छलफल भएको छ ’, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो‘, आर्मीले आफ्नो ब्यारेकमा कतिसम्म राख्न सक्छ भनेर पनि छलफल भएको छ । फिर्ता बोलाएपछि उहाँहरुलाई १५ दिन छुट्टै राख्नुपर्ने हुन्छ’, ।
स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाई प्रमुख सागर दाहालले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी बढाइरहेको बताउनुभयो ।
उहाँका अनुसार चीनसँग जोडिएका नाकाहरुमा पनि निगरानी सुरु गरिएको छ । रसुवागढी र तातोपानी नाकामा विशेष निगरानी बढाइएको उहाँले बताउनुभयो ।
वुहानमा रहेका नेपाली विद्यार्थीहरुले आफूहरुको उद्धार गर्न चीनमा रहेको नेपाली दूतावासलाई आग्रह गरेका छन् । चीन लगायत विश्वका दर्जन बढी देशहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म १७० जनाको यो भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।