वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाको आर्थिक तथा प्रशासनिक काम रद्द गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पोखरिया नगरपालिकासहित २३ वटा पालिकाको आर्थिक तथा प्रशासनिक काम रद्द गरेको हो ।
संघ सरकारले खटाएका प्रशासकीय अधिकृतलाई हाजिर नगराइ कनिष्ठबाटै काम गराउने र आफूखुसी निमित्त तोक्ने गरेपछि मन्त्रालयले ६ बुँदे मापदण्ड लागु गरेर आर्थिक तथा प्रशासनिक कामकाज रोकिएको हो ।
पर्साको पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अजय कुमार श्रीवास्तव र बाराको महागढीमाई नगरपालिकाका विजय प्रसाद कुशवाहासहित देशैभरका २३ वटा स्थानीय तहको काम रद्द गरिएको हो ।
अधिकांश पालिकामा जनप्रतिनिधिले आफू अनुकूलको कर्मचारीलाई निमित्तको भरमा कार्यालय सञ्चालनका लागि अधिकार दिने क्रममा कनिष्ठ कर्मचारीलाई नै अधिकार दिएपछि यो कदम थालिएको मन्त्री राजकुमार गुप्ताले बताए ।
मन्त्रालयले सबै पालिकामा परिपत्र गरि मापदण्डमा त्यसरी काम गराएको पाइए कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत पालिकाको आर्थिक कारोबार रोक्का गरिने चेतावनी दिएको थियो । मन्त्रालयको माघ ९ गतेको निर्णयानुसार स्थानीय तहहरुमा निमित्त भई कार्य गर्न प्रदान गरिएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरिएको उल्लेख गरिएको छ ।