राजविराज । सप्तरीका सरकारी कार्यालयले नियमित विद्युत् महशुल नतिरेको पाइएको छ । राजविराज नगरपालिका, सप्तरी कारागार, जिल्ला समन्वय समिति लगायत सरकारी कार्यालयले उपयोग गरेबापतको करोडौं महशुल बुझाउन बाँकी रहेकोे नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले बताएको छ । सरकारी कार्यालयले नियमित विद्युत् महशुल नबुझाउँदा बक्यौता रकम बढेर रू. २६ करोड ४ लाख १३ हजार पुगेकोे केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार राजविराज नगरपालिकाले मात्रै १ करोड ३७ लाख २३ हजार ६ रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । नगरपालिकाले सडक बत्तिको रू. १ करोड १९ लाख १६ हजार ३८३, राजविराज गेस्ट हाउसको रू. ४ लाख २ हजार ९०७ र कार्यालयको रू. १४ लाख ३ हजार ७१४ महशुल असुल हुन बाँकी रहेको केन्द्रका इन्जिनीयर आमोदकुमार यादवले जानकारी दिए । यसैगरी, राजविराज कारागारले रू. ८ लाख ८५ हजार १७७ र जिल्ला समन्वय समितिले रू. ७ लाख ५० हजार ७२४ बाँकी रहेको उनले बताए ।
बक्यौता बढ्दै गएपछि केन्द्रले गत साउनदेखि मंसिरसम्म ४०० भन्दा बढी ग्र्राहकको विद्युत् लाइन काटी रू. १ करोडभन्दा बढी असुल गरेको छ । यस अवधिमा विद्युत् चोरी गर्ने ३७३ जनालाई कारबाही गरी २१ लाख रुपैयाँभन्दा बढी रकम असुली गरिएको केन्द्रले बताएको छ । कार्यालयले कडाइ गर्न थालेपछि चुहावट उल्लेख्य रूपमा घटाइएको यादवको दाबी छ । सप्तरीमा हाल २२ दशमलव ७३ प्रतिशत मात्र चुहावट रहेको उनले जानकारी दिए । चुहावट बढेपछि हाल टोली परिचालन गरी हुकिङ थुत्ने, व्यक्ति र उपकरण नियन्त्रण गर्ने, जरीवाना गर्नेलगायत कार्य शुरू शुरू गरिएको केन्द्रले बताएको छ । गत आर्थिक वर्षको शुरूआतसम्म ५२ दशमलव ६ प्रतिशत रहेको विद्युत् चुहावट पछिल्ला १० महीनामा ३९ दशमलव ९ प्रतिशतमा झारिएको थियो । चुहावटकै कारण २ वर्षअघिसम्म सप्तरीमा देशकै सबैभन्दा धेरै लोडशेडिङ हुँदै आएको थियो ।