काठमाडौं । दुई वर्षअघि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद सन् २०१२ देखि नै भारतको खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को निगरानीमा रहेको हालै प्रकाशित एक पुस्तकले खुलासा गरेको छ ।
मुम्बई अन्डरवर्ल्डबारे डोंग्री टु दुबई, माफिया क्वीन्स अफ मुम्बई जस्ता दर्जनौं वेस्ट सेलर पुस्तक लेखेका हुसेन जाहिदीको हालै प्रकाशित नन्फिक्सन् ‘रअ हिटम्यानः द एसासिनेसनस्’ मा मोहम्मद १० वर्षदेखि भारतको बाह्य गुप्तचरी निकाय रअको र्याडरमा रहेको उल्लेख गरिएको हो ।
थ्रिलर उपन्यास लेखनमा चर्चित काशिफ मशाइख र पूर्वरअ एजेन्ट लकी विष्टसँग मिलेर उनले लेखेको यो पुस्तकको पहिलो भागमा ‘अपरेशन मनोपोली’ शीर्षकमा लाल मोहम्मदको प्रसंग उल्लेख छ । गएको ३ डिसेम्बर २०२४ मा सार्वजनिक पुस्तकमा मोहम्मदले अन्डरवर्ल्ड डन दाउद इब्राहिम र पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) सँग मिलेर काम गर्ने गरेको आरोप लगाइएको छ ।
‘नक्कली भनेर कतिपय अवस्थामा छुट्टयाउनै नसकिने किसिमका नोटहरु नेपाल, बंगलादेश र मध्यपूर्वी मुलुक हुँदै विभिन्न माध्यमबाट भारतमा भित्रिने गरेका छन्’, पुस्तकमा दाबी गरिएको छ, ‘त्यो र्याकेटमा लाल मोहम्मद नेपालदेखि भारतसम्म नक्कली नोट पुर्याउन मिडल म्यानको भूमिकामा थिए ।’
त्यही कारण मारिनुभन्दा एक हप्ताअघि जम्मु डाँडा प्रहरी बिटमा गएर आफूले असुरक्षित महसुस गरेको बताउँदा पनि उनले ‘खास कारण’ खुलाउन नसकेको दाबी गरिएको छ ।
सर्लाहीको गोडैता नगरपालिका–१०, मनहर्वा स्थायी घर भएका मोहम्मद ३ असोज २०७९ मा अज्ञात व्यक्तिको गोली प्रहारबाट मारिएका थिए ।
गोठाटारमा गार्मेन्ट उद्योग चलाइरहेका उनी त्यो दिन फ्याक्ट्रीका लागि आवश्यक प्लास्टिक लिन ग्राहक रामप्रसाद गौतमको बा ६ च ५१५२ नम्बरको कारमा जोरपाटी गएका थिए । फर्किएर आउँदा साढे ६ बजेतिर फ्याक्ट्री अगाडि मोटरसाइकलमा कुरेर बसेका दुई सुटरले उनलाई नढल्नुञ्जेल गोली दागी रहे ।
राति नै नेपाल प्रहरीले गोठाटारमा मारिएका मोहम्मद नक्कली नोट कारोबारमा संलग्न व्यक्ति भएकोे थाहा पाएको थियो । आतंकवादबारे अनुसन्धान गर्ने प्रहरीको विशिष्टकृत निकाय विशेष ब्यूरोसँग उनको गतिविधिबारे पटकपटक भारतीय पक्षले चासो राख्ने गरेको थियो । त्यसैले ‘लाल मोहम्मद’ नामका व्यक्ति मारिएको खबर बाहिरिएलगत्तै विशेष ब्यूरोका अधिकारीहरु पनि परिचालित भएका थिए ।
पृष्ठभूमिले मोहम्मद प्रकरणको खास कारण दक्षिण छिमेकतिर सोझ्याए पनि प्रहरी अनुसन्धानका कागजातहरुमा यसबारे काहीँ संकेत मिल्दैन । काठमाडौं प्रहरीले यो प्रकरणमा सीमा नाकाबाट हतियार ल्याउन प्रयोग भएका मोहराम मियाँ, रेहान मियाँ र सुस्मिता स्याङ्तानको गिरफ्तारीलाई नै सफलता मान्यो । माथिल्लो तहसम्म खोजबिन गर्न अनुसन्धान अधिकृतहरुले त्यति रुचि देखाएनन् ।
मोहम्मद मारिएको डेढ वर्षपछि यो मामलाका एक महत्वपूर्ण आरोपीलाई जिल्ला प्रहरी कार्यालय, बाराले गोली हालेर समातेको विवरण सार्वजनिक भयो । मोहम्मद प्रकरण ‘कार्यान्वयन’का मुख्य डिजाइनर मानिएका भारतीय नागरिक बब्लु पासवानलाई गोली हानेर समात्दा बारा प्रहरीले उनको साथमा लागूऔषध ब्राउन सुगर र अवैध हतियार बरामद भएको बतायो । त्यही कसुरमा उनी अहिले कारागारमा छन् ।
मोहम्मद प्रकरणमा यिनै पासवानले रक्सौलबाट राजु भनिने दिनेश र गड्डु पटेल नामका सुटरलाई पेस्तोल र गोली पठाइदिएको खुलेको थियो । दुई सुटरलाई नितिन मदन नामक व्यक्तिले मोहम्मदको फ्याक्ट्री नजिकै रहेको कोशी पारी गेष्ट हाउसमा बस्ने प्रबन्ध गरिदिएको भेटिएको थियो । नितिन अहिलेसम्म फरार छन् ।
मोहम्मद प्रकरणमा पासवान जोडिएको पाटोतर्फ अनुसन्धान गर्न हालसम्म काठमाडौं प्रहरीले चासो देखाएको छैन । यस्तोमा मोहम्मद भारतीय खुफिया एजेन्सीको निशानामा रहेको विवरणसहित सार्वजनिक भएको पुस्तकले विगतमा गरिएका कतिपय शंकाहरुलाई बलियो बनाएको छ ।
‘रअ’को काठमाडौं अपरेशन
पुस्तकमा उल्लेख भएअनुसार, एक दशकअघि नयाँ दिल्लीस्थित रअ हेडक्वार्टरबाट एजेन्ट लिमा बोलाइएका थिए । त्यसबेला कर्णल शोभराज (लेखकले दिएको छद्म नाम) ले उनलाई एउटा जिम्मेवारी दिए – उत्तरतर्फ चलिरहेको जाली नोटको कारोबार सञ्जाललाई ध्वस्त पार्ने ।
सन् २०१० सम्ममा १० हजार करोड नक्कली भारतीय रुपैयाँ बजारमा पुगेको सरकारी अनुमान थियो । शोभराजको भनाइमा, पाकिस्तानको खुफिया एजेन्सी आईएसआईको सहयोगमा भारतको अर्थतन्त्र विगार्ने गरी त्यस्ता नक्कली नोटहरु भित्रिइरहेका थिए ।
लिमालाई शोभराजले आफ्नो डेस्कबाट एउटा फाइल निकालेर दिएका थिए, जसमा जाली नोट कारोबारको मिहिन व्याख्या, केही तस्वीर र इन्टलिजेन्स ब्रिफिङहरु थिए । त्यसबेला उनलाई पहिलो जिम्मेवारी उत्तराखण्डको अल्मोडा जेलमा दिइएको थियो । त्यहाँ दिपक गुप्ता नामका व्यक्ति रहेको र उनले नेपालमा रहेको जाली नोट कारोबारको नेक्सससम्म जोड्न सक्ने भनिएको थियो ।
‘जाली नोट कारोबारमा संलग्न रहेको आरोपमा उनलाई उत्तरप्रदेश प्रहरीले रानीखेतबाट पक्राउ गरेको थियो’, पुस्तकमा भनिएको छ, ‘एजेन्ट लिमा त्यही जेलको ब्यारेक नं. १२ मा थिए ।’
एजेन्ट लिमाको छद्म नामले चिनिने लकी विष्ट हत्या, अपहरण र फिरौती असुलीमा संलग्न राजु परगाई र अमित आर्यको नेपाल–भारत सीमा क्षेत्रमा भएको हत्यामा जोडिएको आरोपमा पक्राउ परेका थिए । यो प्रकरणमा करिब चार वर्ष थुनामा रहँदा उनी ११ वटा जेलमा सारिएका थिए । तीमध्ये एउटा अल्मोडा जेल थियो । पछि लिमामाथि लगाइएको आरोपमा प्रमाण नपुग्ने भन्दै उनलाई रिहा गरिएको थियो ।
‘जेलभित्र क्रिकेट खेल्ने व्यवस्था थियो, त्यही ग्राउण्डबाट लिमा दिपक गुप्तासँग नजिकिएका थिए’, पुस्तकमा भनिएको छ, ‘त्यसबेला गुप्ताले आफूलाई गलत समयमा गलत ठाउँमा हुँदा फसेको निर्दोष नागरिकको रुपमा व्याख्या गरेका थिए ।’
‘तर प्रहरीहरु भन्छन् कि तिमी त ७० हजार बराबरको नक्कली नोटसहित समातिएका थियौं’, लिमा प्रश्न गर्छन् । ‘ती नोटहरु मलाई कसैले फसाउने नियतले दिएको रहेछ, ती नक्कली हुन् भन्ने मलाई थाहै थिएन’, गुप्ताले स्पष्टीकरण दिए ।
लिमा विश्वास गर्नेवाला थिएनन् । किनकि, गुप्ताको तीनपुस्ते विवरण उनले पहिल्यै पाइसकेका थिए । तर, गुप्तालाई त्यसको छनक नदिई लिमाले जिम्मेवारी फत्ते गर्नुपर्ने थियो । त्यसैले उनले गुप्ताको जवाफ सुन्ने वित्तिकै अनुहारमा निराशाको हाउभाउ देखाए ।
‘त्यसो भए तिम्रो नक्कली नोट कारोबारीहरुसँग राम्रो सम्पर्क छ भन्दै जेलभित्र चलेका सबै हल्लाहरु झुठा हुन् ?’, उनले गुप्ताको इगोमा प्रहार गर्न खोजे, ‘मैले सोचेको थिएँ, तिमी ठूलो खेलाडी हौं ।’
गुप्ताको हाउभाउ फेरियो । लिमाले खोजे जस्तै उनको जवाफले गुप्ताको मनमा ठेस पुर्याएको थियो । तर, लिमा जाली नोटको कुरै नगरी चुपचाप क्रिकेट खेल्नतिर थाले ।
तेस्रो दिन, गुप्ताले लिमालाई एउटा कुनातिर लगेर सोधे, ‘तिमीलाई नक्कली नोटमा किन यति धेरै चासो ?’
लिमाले मौका नगुमाइ जाल विछ्याए, ‘मलाई पनि नक्कली नोट चाहिएको थियो ।’
‘कति ?’
‘पाँच लाख बराबर ।’
गुप्ता एकछिन गम्भीर देखिए । जवाफ फर्काउन धेरै समय पनि लगाएनन् ।
‘हुन्छ । तर, नोट नेपालबाट लिनुपर्छ ।’
‘त्यसका लागि अढाइ लाख लाग्छ, मेरो कमिसन १० प्रतिशत ।’
लिमाले सोधे, ‘नक्कली नोट बजारमा समातिने अवस्था रहन्छ कि रहँदैन ?’,
‘मेरो नोट ९९ प्रतिशत सक्कलीसँग मिल्छ, सबै सुरक्षा फिचरहरु मिल्छन् ।’
अब जेलभित्रै नक्कली नोट कारोबारको डिल ‘लक’ भयो ।
गुप्ताले उनलाई नेपाली डिलर प्रवीणसँग जोडिदिन्छन् । रअ हेडक्वार्टरमा रहेका कर्णल शोभराजले यो मिसनमा छद र जोरोलाई थप्छन् । छद भारतीय सेनाका पूर्वअधिकारी हुन्, उनको सामग्री व्यवस्थापन र रणनीतिक योजनामा विज्ञता छ । जोरो पहिले दिल्ली पुलिसमा काम गरिसकेका अधिकारी हुन्, उनको विशेषता निगरानी हो ।
योजनाअनुसार, दुवै जना महेन्द्रनगर हुँदै काठमाडौं प्रवेश गरे । उनीहरु बसेकै ठाउँमा नक्कली नोटसहितको झोला बोकेर प्रवीण पुगे ।
‘अहिले मसँग चार लाख बराबरको नोट मात्र छ’, उनले भने ।
‘बात पाँच की हुई थी… (पाँच लाखको कुरा भएको थियो…)’, छदले भने ।
‘अहिले पैसा तिर, बाँकी एक लाख तीन दिनभित्र पाउँछौं’, प्रविणले जवाफ दिए ।
जोरोले ‘जति पाएका छौं, त्यतिका लागि मात्र तिर्छौं’ भनिदिए । यद्यपि, यसले परिस्थिति बिगारेन । केही दिनमा थप पैसा पाएपछि उनीहरुले बाँकी रकम तिरे ।
उता जेलमा रहेका लिमालाई रअ हेडक्वार्टरबाट खबर आयो, दुई एजेन्टले गुप्ताले भने जस्तै काठमाडौंमा नक्कली नोट पाए ।
जेलभित्रै बार्गेनिङ
त्यो नोट बजारमा छुट्टिन्छ कि छुट्टिन्न भनेर जान्न लिमाले एक जना जुवाडे साथीलाई दिन्छन् । तर, ती नोटहरु बजारमा सजिलै प्रयोग हुन्छन् । पछि एजेन्सीको ‘ठूलो माछो’ समात्ने योजनाअनुसार, लिमाले जेलभित्रैबाट थप बार्गेनिङ गरिरहन्छन् । यसपटक उनी अझै ठूलो डिल गर्नलाई प्रवीणभन्दा माथिल्लो तहको मान्छे चाहिएको बताउँछन् ।
गुप्ताले प्रवीणभन्दा माथिल्लो तहका ‘हाकिम’ नामक व्यक्तिसँग जोडिदिने बताए । लिमालाई एजेन्सीले दिएको विवरणमा लाल मोहम्मदको तस्वीर र नाम थियो । त्यसैले उनी यो नेक्ससमार्फत् मोहम्मदसम्म पुग्न खोजिरहेका थिए ।
‘हाकिममाथि रहेका कोही लाल मोहम्मद हुनसक्छन् भन्ने थियो’, पुस्तकमा भनिएको छ, ‘मोहम्मदसम्म पुग्ने बाटो खोज्नका लागि हाकिममार्फत अघि बढ्नुको विकल्प थिएन ।’
सधैँ सेतो कपडामा हुने हाकिमसँग भेट गरेर छदले ५० लाख बराबरको नक्कली नोट माग्छन् । ‘यो मिसन एजेन्सीका लागि निकै महँगो परिरहेको थियो’, पुस्तकमा भनिएको छ, ‘यद्यपि, यसको यसको दीर्घकालीन प्रभावको अगाडि त्यो खर्चको कुनै मूल्य थिएन ।’
किनभने उनीहरुलाई लाल मोहम्मदसम्म पुग्नु थियो ।
त्यसैले दिपक गुप्ता जमानतमा नछुटुन् भनेर रअले काम गरिरहेको थियो । रअ एजेन्टहरुले नेपालमा हाकिम नामका व्यक्तिको मोबाइल नम्बर ट्र्याक गरेर जाँच गरिरहेका थिए । उनीहरुको अपेक्षा थियो – उनले कुनै न कुनै बेला मोहम्मदसँग सम्पर्क गर्नेछन् ।
‘त्यस बेलासम्म लाल मोहम्मदसम्म पुगेपछि डिलबाट पछि हट्ने तयारी थियो’, पुस्तकमा भनिएको छ, ‘तर, हाकिम एकदमै चलाख अपरेटर निस्किए, उनले माथिल्लो तहसँग कनेक्सन देखिने गरी सम्पर्क गर्दै गरेनन् ।’
‘हामी सबै पैसा एकैपटक बोक्दैनौं, एकदमै जोखिम हुन्छ’, छदले हाकिमलाई भने ।
‘हाम्रो बोस केही दिनमा आउँदैछन्’, उनले जानकारी गराए ।
‘तिम्रो बोस को हुन् ?’, उनीहरुलाई प्रश्न सोधियो । जवाफमा छदले ‘चाँडै भेट्ने छौं’ भनिदिए ।
अल्मोडा जेलमा लिमाले गुप्तालाई ‘हाकिमलाई भेट्न गएका साथीहरु त्यति खुशी देखिएनन्’ भने । ‘उनी केही कुरामा सम्झौता गर्न खोज्दैनन्, पैसा ल्याउने कुरामा हुने समस्या पनि बुझ्दैनन् ।’
‘हुनसक्छ, तर तिमीले उनीसँगै डिल गर्नुपर्छ । अरु विकल्प छैन’, गुप्ता भन्छन् ।
‘मसँग अझ ठूलो अर्डर बाँकी छ, कारोबार गर्नलाई सजिलो अवस्था हुनुपर्छ’, लिमा आश देखाउँछन् ।
‘मैले जानेसम्म सबैभन्दा माथिको हाकिम नै हो’, उनी भन्छन् । लिमाले गुप्तालाई आकर्षक प्रस्ताव फ्याक्छन्, ‘तिम्रो जमानतको निवेदन किन अड्किरहेको छ थाहा पाउने मन छ ?’
‘मेरो जमानतको निवेदनबारे तिमीलाई कसरी थाहा भयो ?’, गुप्ता सोध्छन् ।
‘तिमी व्यापारी हौं, व्यापारमा लिने र दिने हुन्छ । मलाई चाहिएको सूचना देऊ’, लिमा भन्छन्, ‘तिमीलाई चाहिएको कुरा म भन्छु ।’
‘मलाई चाहिने सूचनाका लागि तिमीलाई के चाहिन्छ ?’
‘हाकिमभन्दा माथिल्लो तहको कोही…’, लिमा जवाफ दिन्छन् ।
गुप्ता केहीबेर चुपचाप रहन्छन् ।
‘एकपटक मैले हाकिमले मोबाइलमा अरु कोहीसँग बोलिरहेको सुनेको थिएँ’, उनी बोल्न थाल्छन्, ‘उनीसँग बोल्ने मान्छे ऊभन्दा ठूलो थियो । त्यो धेरै ठूलो पैसाको कुरा थियो ।’
‘कति ?’
‘हुनसक्छ, करोड ।’
यो बीचमा लिमालाई जेलबाट निकाल्न रअका अधिकारीहरुले उत्तराखण्ड प्रहरीसँग कुरा गर्छन् । त्यसपछि लिमा जमानतमा छुट्छन् । र, गुप्तालाई १० प्रतिशत दिने भन्दै निस्किन्छन् ।
हाकिमलाई भेट्ने दिन टुंगो लागिसकेको थियो । हाकिमले बोलाएको ठाउँमा उनीहरु टाटा सुमो चढेर गए । उनले भनेको ठाउँमा एउटा फ्याक्ट्री थियो, त्यहाँ पुग्दा हाकिम कम्मरमा नेपाली खुकुरी भिरेर बसेका थिए ।
उनले लिमासहित ३ जनालाई स्वागत गरे । उनीहरु एउटा अँध्यारो कोठामा पुगे, जहाँ ५० लाख बराबरको नक्कली नोट थियो । त्यही भेटमा लिमाले अर्को महिना एक करोड रुपैयाँ चाहिएको बताए ।
हाकिमले त्यो ‘अर्डर’ लाई सहजै लिए । बरु दुई हप्ता पहिले खबर गर्नुपर्ने र ४० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने सर्त राखे । लिमाले घनिष्टता देखाउँदै भने, ‘हुन्छ, विश्वास नै यो कारोबारमा सबथोक हो ।’
त्यो अपराह्न लिमा, छद र जोरो पैसाका गड्डी लिएर फ्याक्ट्रीबाट निस्किन्छन् । महेन्द्रनगर फर्किँदै गर्दा चिसो रातमा घना जंगलमा नोटहरु जलाउँछन् ।
अनि लाल मोहम्मद
अर्को महिना, ‘ठूलो डिल’का लागि लिमाको टोली काठमाडौं ओर्लिन्छ । यसपटक फरक होटल, फरक बसाई । लिमाको सन्देश मोबाइलमा गयो, ‘अग्रिम भुक्तानीका लागि पैसा तयार छ ।’
‘एकदम राम्रो, मेरा केटाहरु लिन आउँछन् ।’
‘हाकिम भाइ, हामी अब पार्टनर हौं, ठूलो योजना छ । त्यसका लागि ठूलै छलफल चाहिन्छ ।’
‘मबाट तिमीहरुलाई के चाहियो ?’, हाकिम प्रश्न गर्छन् ।
‘तपाईंभन्दा माथिल्लो मान्छेसँग एउटा भेट । अग्रिम भुक्तानी र अर्को डिल पनि त्यहीँ गर्छौं ।’
‘मलाई सोच्ने समय चाहिन्छ’, हाकिमलाई जवाफ दिन कुनै हतार छैन ।
केही दिनपछि लिमालाई सन्देश आउँछ, ‘अब हाकिमका पनि हाकिम भेट्न तयार छन् ।’
केही घन्टामै त्यसका लागि तयार रहन भनिएको थियो । ‘तीन जना गाडी चढेर निर्धारित ठाउँ पुग्छन् । केहीवेरको कुराइपछि हाकिमका मानिसहरु पनि कारमा आउँछन्’, पुस्तकमा भनिएको छ ।
एक जना व्यक्तिले ट्याक्सीको झ्यालबाट टाउको निकाल्छन् र निर्देशन दिन्छन्, ‘पछ्याऊ ।’
लाल मोहम्मदसँग भेट– उनीहरुको मुख्य उद्देश्य पूरा हुँदै थियो । त्यसैले यो समूहले जसोजसो भन्यो, उनीहरु त्यसै गर्दै गए ।
पछ्याउँदै जाँदा उनीहरु एउटा घर अगाडि पुगे । ढोकाबाट भित्र छिरे । एउटा अग्लो काठको कुर्सीमा छायाँ देखिने गरी एक जना व्यक्ति बसिरहेका थिए ।
पुस्तकमा उल्लेख भएअनुसार, ती व्यक्ति लाल मोहम्मद थिए ।
लाल मोहम्मद, एक रहस्यका पात्र ।
‘किन यो ? … मलाई किन भेट्नु पर्यो ?’
‘साझेदारले एकअर्कालाई चिन्नुपर्यो । यत्तिका समयदेखि हाकिमसँग डिल गरिरहेका छौं, त्यसैले हामी चाहन्थ्यौं कि उहाँको पनि हाकिमलाई भेटेर सम्मान व्यक्त गरौं ।’
‘हाकिमले भनेका थिए कि तिमीसँग अझ ठूलो योजना छ ?’
‘ए.. अँ… अर्को डिल अझ ठूलो हुनेवाला छ ।’
‘कति ?’
लिमाले पाँच औंला देखाउँदै भन्छन्, ‘पाँच करोड ।’
दुई हप्ताभित्र रकम तयार हुने मोहम्मद बताउँछन् । केहि बेरमा मदिराका बोतल खुल्न थाल्छन् ।
…
केही महिनापछि… ।
प्रायः ठमेल क्षेत्रमा भेटिने ‘हाकिम’ रुसी खुफिया एजेन्सीहरुले चलाउने अपरेशनको शैलीमा मारिए । चिकित्सकहरुको घोषणालाई मान्ने हो भने उनले विष सेवन गरेर ‘आत्महत्या’ गरे । तर, पुस्तकमा एजेन्ट लिमाले उनको चियामा विषको धुलो हालिदिएको उल्लेख छ ।
अनि, ती हाकिमका ‘हाकिम’ लाल मोहम्मद अन्त्यको कथा त आजसम्म आलै छ ।