वीरगंज | वीरगन्ज–१६ नगवाका तीन वटा घरमा सशस्त्र प्रहरीले छापा मारेर २१ लाख रुपैयाँ भन्दा बढी मूल्यको तस्करीको कपवडा बरामद गरेको छ ।
बुधबार बिहान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नगवाको नयाँबस्तीस्थित तीन वटा घरमा छापा हानेर २१ लाख २१ हजार ८ सय रुपैयाँ मूल्यका विभिन्न ब्राण्डका कपडाहरु बरामद गरेको हो । कपडा बरामद गरिएको घरधनीको नाम भने सशस्त्र प्रहरीले खुलाएको छैन ।
सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार, नगवाको नयाँबस्तीका तीन वटा घरमा कारोबहारीहरुले गोदाम बनाएर भारतबाट राजश्व छलेर ल्याइएको सटीङसुटीङका थान कपडा,कुर्था सेट लगायतका कपडा भण्डारण गरि राखेको सुचना सशस्त्र प्रहरीले पाएको थियो । उक्त सूचना पाएपछि सशस्त्र प्रहरी नायब उपरक्षिक सुरज रिजालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले ती घरमा पुगेर खानतलासी गर्दा ती कपडाहरु बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिए ।
गोदममा कपडा भण्डारण गरेर राखेका सामानधानीको पहिचान नुखलेको भन्दै उनले यसबारेमा अनुसनधान भइरहेको बताए । बरामद कपडा बुधबार दिउँसो आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जानकारीपनि उनले दिए ।