वीरगंज । देशभर बाढी र पहिरोका घटनाका कारण देखिएको रगत अभावलाई कम गर्न बाराको जीतपुरसिमरा–२ स्थित सिमरा चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा आठ महिलासहित ११२ जनाले रगतदान गरेका छन्।
कार्यक्रममा जीतपुरसिमराका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, नेपाल रेडक्रस सोसाइटी सिमरा उपशाखाका अध्यक्ष शिवकुमार शर्मा, सूर्य नेपाल प्रालिका प्रतिनिधि सर्विन श्रेष्ठ, र मजदुर नेता बेनी तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सिमरा उपशाखाको आयोजना र सूर्य नेपाल प्रालिको सहयोगमा सम्पन्न भएको हो। कार्यक्रमलाई सफल बनाउन जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलगायत विभिन्न संघसंस्थाले सहयोग गरेका थिए।
उक्त रक्तदानले बाढी र पहिरो पीडितहरूको उपचारमा आवश्यक रगतको अभाव कम गर्न सहयोग पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। यस कार्यक्रमले सिमरा र आसपासका क्षेत्रमा सामाजिक उत्तरदायित्व र सहयोगको भावना जगाएको छ।