काराकास। भेनेजुएलामा राष्ट्रपति निकोलास मोदुरोको हत्या गर्ने योजना बनाएको आरोपमा ६ जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरूमा ३ अमेरिकी, २ स्पेनिस, र १ चेक नागरिक रहेका छन्।
गृहमन्त्री डियोसडाडो काबेलोले उनीहरूको साथबाट सयौँ हतियार बरामद गरिएको जानकारी दिए। काबेलोको भनाइ अनुसार, उनीहरूले राष्ट्रपति मोदुरो र अन्य शीर्ष अधिकारीहरूको हत्या गर्ने योजना बनाएका थिए।
भेनेजुएलाको सरकारले पक्राउ परेका स्पेनिस नागरिकहरू मड्रिडको नेसनल इन्टेलिजेन्स सेन्टर (सीएनआई)सँग सम्बन्धित रहेको आरोप लगाएको छ। तर, स्पेनिस सरकारनिकट स्रोतले यो आरोप अस्वीकार गरेको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा काबेलोले भने, “अमेरिकाको सीआईएले यो अपरेसनको नेतृत्व गरिरहेको छ। यसले हामीलाई आश्चर्यचकित बनाएको छैन। तर, स्पेनको नेसनल इन्टेलिजेन्स सेन्टर यसअघि सक्रिय थिएन।”
उनले थपे, “पक्राउ परेका दुई जनाले हामीलाई भाडाका सैनिकहरू भेनेजुएला ल्याउने प्रयास गरिरहेको जानकारी दिएका छन्। उनीहरूको स्पष्ट उद्देश्य राष्ट्रपति निकोलास मोदुरो, उपराष्ट्रपति डेल्सी रोड्रिग्वेज, र मसहित अन्य कमरेडहरूको हत्या गर्नु थियो।”
अमेरिकाले भने यी आरोपहरू अस्वीकार गरेको छ। स्टेट डिपार्टमेन्टले मोदुरो सरकारलाई अपदस्त गर्ने योजनामा अमेरिकी संलग्नताको दाबी झुटो भएको बताएको छ।
यस घटनाले भेनेजुएलामा सुरक्षा स्थितिलाई थप संवेदनशील बनाएको छ। सरकार र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा यसले के असर पार्ला भन्ने प्रतीक्षा गरिएको छ।