बारा। बारामा सरकारी जग्गा किर्ते गरी विक्री गर्न खोज्ने गिरोहका दुई सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँस्थित जि.टि.एच. प्लास्टो इन्डष्ट्रि प्रा.लि का प्रतिनिधि विकास गुप्ता र जग्गाका वारेस हेमन्त रिसाल रहेका छन्।
उनीहरूले बाराको तेतरिया क्षेत्रमा करिब २१ विगाहा ७ कठ्ठा २ धुर सरकारी जग्गालाई नक्कली कागजात खडा गरेर बिक्री गर्ने प्रयास गरेका थिए। मालपोत कार्यालय बाराबाट प्राप्त जानकारी अनुसार, उनीहरूले नक्कली लालपुर्जा बनाएर मालपोत कार्यालयमा स्रेस्ता कायम गर्न खोजेका थिए। तर, पेस गरिएको कागजात मालपोत कार्यालयले जारी गरेको नदेखिएपछि, उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ।
गत वर्ष भदौ ५ गते साबिक तेतरिया गाविसको तीनवटा कित्ता नम्बरहरूमा रहेको २१ विगाहा भन्दा बढी जग्गा चितवन र कास्कीका दुई व्यक्तिहरूले जि.टि.एच. प्लास्टो इन्डष्ट्रि प्रा.लि काठमाडौँको नाममा पास गरेको देखिएको थियो।
तर, अनुसन्धानपछि ती जग्गाहरू सरकारी अभिलेखमा रहेको र पेस गरिएको कागजात नक्कली भएको पुष्टि भएको छ।
प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार, पक्राउ परेका व्यक्तिहरूविरुद्ध थप अनुसन्धान भइरहेको छ। बारा जिल्लामा सरकारी जग्गाको दुरुपयोग र किर्ते प्रकरणको यो घटना गम्भीर रूपमा अनुसन्धान भइरहेको जानकारी दिइएको छ।