वीरगंज | इजरायली सेनाले गाजाको रफाह शहरमा फेला पारेका छवटा शव अक्टोबर ७ मा हमासले बन्धक बनाएका व्यक्तिहरूको रहेको पुष्टि गरेको छ। ती शवमध्ये पाँचजना इजरायली नागरिक रहेको जनाइएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले एक मृतक, हेर्स गोल्डबर्ग-पोलिन, अमेरिकी नागरिक भएको पुष्टि गर्दै भने, “म अत्यन्त दुःखी र आक्रोशित छु।” पोलिनलाई हमासले बन्धक बनाएको एक भिडियोमा हात काटिएको अवस्थामा देखिएको थियो।
बाइडनले जारी गरेको एक विज्ञप्तिमा उनले यो घटना दुःखद र निन्दनीय भएको बताउँदै हमासका नेताहरूले यसको मूल्य चुकाउनुपर्ने बताएका छन्। यसैबीच, बन्धक परिवारहरूको समूह ‘द मिसिङ फ्यामिलिज फोरम’ले इजरायली प्रधानमन्त्री नेतन्याहूलाई बाँकी बन्धकहरूको रिहाइका लागि युद्धविराम सहमतिमा जान पुनः अनुरोध गरेको छ।
इजरायली सेनाले एक विज्ञप्तिमा ती शवहरू इजरायली भूभागमा फिर्ता गरिएको बताएको छ। सेनाका प्रवक्ता ड्यान्यल हेगारीले हमासले इजरायली फौजहरू पुग्नुभन्दा केही समयअघि नै ती बन्धकहरूको हत्या गरेको बताए। हमासले गरेको आक्रमणपछि इजरायली सेनाले गाजामा सैनिक कारबाही जारी राखेको छ। गाजामा हालसम्म ४०,५३० जना मारिएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हमासको नियन्त्रणमा अझै ९७ जना बन्धक रहेका छन्, जसमा नेपाली विद्यार्थी विपिन जोशी पनि समावेश छन्। उनको अवस्था अझै अज्ञात रहेको छ।
बन्धकहरूको अवस्था अज्ञात रहँदा पनि अमेरिकी, इजिप्टियन, र कतारी मध्यस्तकर्ताहरूले युद्धविरामको लागि प्रयास गरिरहेका छन्। उनीहरूले हमासको नियन्त्रणमा रहेका ९७ जना बन्धकको रिहाइका लागि इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टापट्टा गर्ने सम्झौता गर्न प्रयासरत छन्। यी बन्धकमध्ये कम्तीमा २७ जना मारिएको ठानिएको छ। विपिन जोशीको अवस्था अझै अज्ञात भए पनि नेपाली अधिकारीहरूले उनको रिहाइका लागि विभिन्न कूटनीतिक माध्यमहरूबाट प्रयास जारी राखेका छन्।
यो घटनाले गाजामा जारी संघर्षको जटिलता र मानवीय संकटलाई थप बलियो बनाएको छ। युद्धविरामको सहमति नभएसम्म थप बन्धकहरूको जीवन जोखिममा पर्ने सम्भावना उच्च छ। हमास र इजरायली सेनाबीचको तनावले मध्यपूर्व क्षेत्रमा द्वन्द्वको स्थिति झन् पेचिलो बनाउँदैछ। दुवै पक्षले आफ्नो धारणा बलियो बनाउन प्रयास गरिरहेका छन्, जसका कारण शान्ति स्थापनाको प्रयासहरूमा चुनौती थपिएको छ।