वीरगंज । प्राडा. दिनेश बाँस्तोलाको ‘सुहागरात’ बजारमा आएको छ ।
पहिलो यौनदेखि बुढेसकालसम्म ’ सुहागरात पुस्तक शरीर क्रिया विज्ञान अर्थात फिजियोलोजीका डा. बाँस्तोलाले विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका सङ्कलित लेखहरूको सँगालोका रूपमा पाठकसामु ल्याएका हुन्।
पुस्तकका प्रकाशक तथा सम्पादक उपेन्द्र खड्काले लेखकको अनुरोधमा छरिएर रहेका लेखहरु एउटै पुस्तकमा पढ्न मिलोस् भन्ने उदेश्यले लेखहरु सङ्कलन गरी पुस्तकको रूपमा तयार गरिएको बताए।
पुस्तकमा पहिलो यौनदेखि बुढेसकालसम्मको यौन जिवन समेटिएको छ ।
डा. बाँस्तालाले सृष्टि चक्रका लागि होस् वा व्यक्ति शारीरिक तथा मानसिक स्वास्थ्य, सामाजिक र यौनानन्दका लागि नै किन नहोस् स्वस्थ यौन सम्बन्ध आवश्यक हुने विषय पुस्तकमा समेट्ने प्रयास गरेको बताएका छन्।
यौनको सवालमा चिकित्सकीय दृष्टिकोण तथा यथार्थता पुस्तकमार्फत प्रस्तुत छ। व्यक्तिगत, शारीरिक तथा मानसिक, पारिवारिक, सामाजिक, सांस्कारिक र आर्थिकलगायतका दृष्टिकोणमा यौन सम्बन्धी भ्रम र यथार्थलाई केलाएर पुस्तकमा समेटिएको छ। यौनजन्य कुण्ठा तथा यौनजन्य समस्या र यौन अनुशासनहीनताका कारणले पर्ने प्रभाव लगायतका विषय पुस्तकमा छन्। खड्काले भने ‘यो पुस्तक डा.बाँस्स्तोलाले चार दशकभन्दा लामो समयको सेवाकालमा अध्ययन गर्नुभएको यौन शिक्षासँग सम्बन्धित विषयको संगालो हो।’
यौन शिक्षासँग सम्बन्धित विषयलाई समेटेर डा. बाँस्तोलाले व्यक्तिमा शारीरिक तथा मानसिक रूपमा यौनजन्य समस्या निम्तिनुका कारण, यौनजन्य समस्याले निम्त्याउने समस्या र यसका समाधानका उपायका विषयलाई समेटेर सरल ढंले लेखहरू प्रस्तुत गर्नुभएको छ।
शरीर क्रिया विज्ञान र यौनबीचको सम्बन्ध, प्राकृतिक यौन, अस्वस्थ यौनका कारण यौनजोडीबीचमा उत्पन्न हुनसक्ने उत्तरचढाव तथा समस्या लगायतका विषयमा चिकित्सकीय दृष्टिकोणले यौन शिक्षा दिनु यो पुस्तकको उद्देश्य रहेको खड्काको भनाई रहेको छ।
यसैगरी पुस्तकमा परिवार योजनाका विधि, बच्चा नहुने जोखिम, हस्तमैथुनले बाँझोपन बढाउँछ, गर्भधारणको उपाय, उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम, गलग्रन्थीले यौनमा समस्या, बन्ध्याकरणले यौन शक्ति घट्दैन, साइबर यौनको जोखिम, सेक्स टोयको जोखिम, यौन र खानाको सम्बन्ध, यौनमा मौसमको प्रभाव, भट्टीमा सवारी चालकको यौनकर्म, पेशामा यौनको प्रभाव, धर्मगुरुको यौन कुण्ठा, बुढेसकालको यौन जस्ता विषय ‘सुहागरात’ पुस्तकमा समावेश छन्।