वीरगञ्ज । वीरगञ्जको गण्डकमा विरुवा रोपिएको छ । दशौँ चुरे दिवसको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकको मुख्य प्रवेश स्थानदेखि उत्तरतिरको मुख्य सडकको डिभाईडरसम्म विभिन्न प्रजातीका विरुवा रोपिएको हो ।
वीरगञ्ज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवन र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सयुँक्त आयोजनामा विभिन्न प्रजातीका ८० थान विरुवा रोपिएको हो । सडकको मुख्य डिभाईडरमा ८० थान विरुवा रोप्नुका साथै उपस्थित सर्वसाधारण एवम् अतिथीलाई ४८० थान विरुवा प्रदान गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।
केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन विरुवा रोपेर वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका थिए । उनकाअनुसार महानगरपालिकालाई हराभरा, सुन्दर र स्वच्छ बनाउने कार्य महानगरको प्रमुख प्राथमिकतामा छ । विरुवा रोप्नुका साथै हुर्काउने र रेखदेख गर्ने कार्य पनि महानगरले गरीरहेको सिंहको भनाई छ ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, वीरगगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका प्रसाद भट्टराई, चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुरका प्रमुख श्यामबाबु लोप्चन, सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह, प्रस्ताबित सीमा सुरक्षा गुल्म वीरगञ्जका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल लगायतको उपस्थिती रहेको थियो ।