वीरगंज | जापानमा सोमबार बिहान इसिकावा प्रान्तमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको छ। जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार यो भूकम्पले कुनै मानवीय र भौतिक क्षति गरेको छैन र सुनामीको खतरा पनि छैन। भूकम्पविज्ञ र सुनामी अधिकारी सातोशी हरडाले सोमबारको भूकम्प जनवरी १ मा गएको ७.६ म्याग्निच्युडको भूकम्पको पराकम्पन रहेको बताए।
सोमबारको ५.९ म्याग्नेच्युडको भूकम्पपछि ४.८ म्याग्नेच्युडको अर्को पराकम्प गएको थियो र दुई घन्टाको अवधिमा थुप्रै पराकम्प महशुस गरिएको थियो। हरडाले भूकम्पको गतिविधि केही कम भएको भए पनि विशेष गरी पहिले क्षति भएका भवनहरूको नजिकका मानिसहरूलाई सतर्क रहन आग्रह गरे।
जनवरी १ मा गएको भूकम्पका कारण क्षतिग्रस्त वाजिमाका दुइवटा घरमा सोमबारको भूकम्पले थप क्षति गरेकोबाहेक अन्य कुनै भौतिक तथा मानवीय क्षति नभएको अग्नि तथा प्रकोप व्यवस्थापन विभागले जनाएको छ।
भूकम्पपछिको सुरक्षा जाँचका लागि रेल सेवा केहीबेरका लागि बन्द गरिएको थियो।
यस भूकम्पले कुनै ठूलो क्षति नगरेकोले स्थानीय बासिन्दाहरूले राहत महसुस गरेका छन्। तर, आगामी दिनमा पनि सतर्कता अपनाउनुपर्ने देखिन्छ, किनकि पराकम्पनहरूको क्रम जारी रहन सक्छ।