आधुनिक बसपार्कको मङ्गलवार उद्घाटन गर्ने तयारी, ठेकेदारले निर्माण कार्यमा लापरवाही गरेको आरोप
वीरगंज संजाल
९ भाद्र २०७६, सोमबार १७:५५
४०८९
वीरगंज । ५ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको वीरगंज बसपार्क मङ्गलवारदेखि सञ्चालनमा आउने भएको छ । वीरगंज महानगरले भदौ १० गते समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले वीरगंज बसपार्कको उद्घाटन गर्ने समयतालिका बनाएको छ ।
सोही क्रममा आजदेखि बसपार्कको सरसफाइ तथा मरम्मत शुरू भएको छ । नवनिर्मित बसपार्कमा अधिकांश कार्य अधूरो रहेको देखिएको छ । गुणस्तरहीन कार्य भएको स्थानीयको आरोप छ । कालोपत्र उप्किएको, नालाको फलामे बिर्को टुटफुट भएको तथा प्रतीक्ष्ाँलयको छाना हावाहुरीले भत्काएपछि टुटफुटलाई टालटुल गरेको आरोप स्थानीय व्यवसायी सोनालाल शर्माको छ ।
सन् २०१५ फेब्रुअरीमा रु १७ करोड ७३ लाखमा टेन्डर सकार गरेका आशीष, प्रभु, रोशन जेभीले रु १५ करोड ७० लाख भुक्तानी मात्र पाउने भएका छन् । योजना अनुसार काम नगरेको तथा विगतका स्टिमेटभन्दा फरक तरीकाले काम गरेको कारण रु २ करोड महानगरपालिकाले कट्टा गरेको जानकारी दिएको छ ।