वीरगन्ज नेपाल चिकित्सक संघले वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट प्रबन्ध निर्देशक(एमडी) शहनवाज अन्सारीसंगै प्रहरीले पक्राउ गरेका ल्याब प्रमुख डाक्टर सन्जय साहलाई विना शर्त रिहा गर्न माग गरेको छ ।
गत सोमबार मेडिकल कलेजको ल्याबमा वीरगन्ज महानगरको अनुगमन समितिले अनुगमन गर्ने क्रममा म्याद सकिएका केमिकल लगायतका औषधी बरामद भएपछि प्रहरीले मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख डाक्टर साहलाई पक्राउ गरेको थियो ।
संघको नारायणी अञ्चल शाखाले एक विज्ञप्ति जारी गर्दै प्रहरीले अतिरन्जित तरीकाले मानमर्दन हुने गरी डाक्टर साहलाई नियन्त्रणमा लिएर हिरासतमा राखेकोमा आपत्ति जनाउर्दै साहलाई विना शर्त तत्काल रिहा गर्न माग गरेको हो । संघका सचिव डाक्टर नौशाद हकले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘संघका आजिवन सदस्य समेत रहेका डाक्टर सन्जय साहको मानमर्दन हुने गरि अपराधिक शैलीमा पक्राउ गरि लगेको घटनाको संघको गम्भीर ध्यानाकर्षण भएको छ।’
पेशागत दायित्व निर्वाह गर्ने क्रममा कहि कतै सामान्य कमिकमजोरी वा त्रूटी भएमा त्यसको सत्यतथ्य छानबिन गर्ने कानूनी विधी प्रकृया हुदाँहुदैपनि कपोकलीपत घटनालाई आधार बनाएर अतिरञ्जित तरिकाले अपराधिक शैलीमा चिकित्सकलाई पक्राउ गर्ने प्रहरीको हर्कतको संघले घोर भत्र्सना गरेकोपनि सचिव हकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी हिरासतमा रहेका डाक्टर साहलाई विना शर्त ससम्मान रिहा नगरिए संघर्ष गर्न बाध्य हुने चेतावनीपनि संघले दिएको छ ।
यता जिल्ला प्रहरी कार्यालय पर्साले भने साहसंगै पक्राउ परेका एमडी अन्सारीविरुद्ध मंगलबार पर्सा जिल्ला अदालतबाट दुई दिनको म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।