वीरगंज | प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाएर निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठक सुरू हुनेबित्तिकै कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद यादवलाई बोल्न समय दिएका थिए।
यादवले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने पार्टीको अडान दोहोर्याएका थिए।
‘मेरो आग्रह गृहमन्त्रीलाई पनि छ, केही नयाँ गर्छु भनेर आउनु भएको छ। सकेसम्म छिटो संसदीय समिति बनाएर आरोपलाई टुंगोमा पुर्याउन सहयोग गर्नुहोस्,’ उनले भने, ‘यो विषयमा सत्य तथ्य छानबिन गरेर बाहिर नल्याएको खण्डमा यो आरोपले तपाईंलाई कहिल्यै छोड्नेछैन, जिन्दगीभर लखेट्नेछ।’
संसदीय समिति बनाएर छानबिन गर्ने कुरा गृहमन्त्रीकै हितमा हुने पनि उनले बताए। गरिब जनताले सहकारीमा जम्मा गरेको बचत लामिछाने कुनै बेला संलग्न रहेको संस्था गोर्खा मिडियामा आएको देखिएकोले छानबिन आवश्यक रहेको उनले बताए।
उनले श्रममन्त्रीसमेत रहेका रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डिपी) कृषि सहकारी संस्थाको उपाध्यक्ष रहेको र त्यहाँका निक्षेपकर्ताले चार करोड रुपैयाँ फिर्ता नआएको गुनासो गरेको पनि बताए। सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीसमेत सञ्चालक रहेको पाइएको उनले बताए।
‘यो सहकारीबाट पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जिबी राईलाई भित्र्याइएको छ। त्यो भित्र्याउने काम श्रममन्त्रीलगायतको हो भन्ने आरोप छ,’ उनले भने, ‘सहकारी ठगी सञ्जाल कसरी फैलिइरहेको छ यो घटनाले पनि देखाउँछ। निष्पक्ष छानबिन गर्न संसदीय समिति बनाउनुपर्छ।’