वीरगन्ज | भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा साविक विजेता चेन्नई सुपर किंग्सले लगातार दोस्रो जीत हात पारेकाे छ ।मंगलबार राति भएको खेलमा चेन्नईले गुजरात टाईटन्सलाई ६३ रनले हराएको हो । चेन्नईले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।
गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए । रिद्धिमान शाह र डेभिड मिलरले समान २१ रन बनाए । चेन्नईका लागि मुस्तफिजुर रहमान, तुशान देशपाण्डे र दिपक चहरले समान २–२ तथा ड्यारेल मिचेल र एम पाथीरानाले समान १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । चेन्नईका लागि शिवम दुबेले २३ बलमा ५१ रन र रचिन रवीन्द्रले २० बलमा ४६ रन बनाएका थिए ।
यस्तै कप्तान रितुराज गायकवाडले ३६ बलमा ४६ रन बनाए । ड्यारेल मिचेल २४ रनमा नटआउट रहे । गुजरातका लागि राशिद खानले २ तथा साई किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले समान १–१ विकेट लिए ।
गुजरातले पहिलो खेलमा मुम्बई इडियन्सलाई हराएको थियो भने चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लाेरलाई हराएको थियो ।
आईपिएलमा बुधबार मुम्बई इन्डियन्स र सनराईजर्स हैदराबाद खेल्दैछन् ।यी दुई बिचकाे खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।