वीरगंज | बिग बोस ओटीटी २’का विजेता तथा युट्युबर एल्विश यादव यादव पक्राउ परेका छन्। नोएडा पुलिसले यादवलाई सोधपुछका लागि बोलाएर आइतबार पक्राउ गरेको हो ।
जिल्ला तथा सत्र अदालत सुरजपुरमा पेस गरेका यादवको विषयमा अनुसन्धानको लागि अदालतले प्रहरीलाई १४ दिनको म्याद दिएको छ । यो १४ दिनसम्म यादव न्यायिक हिरासतमै रहनेछन्। एल्विश यादवलाई अदालत लगिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
रेभ पार्टीमा कोब्रा सर्पको विष आपूर्ति गरेको आरोपमा यादव पक्राउ परेका हुन् । यादवलाई ‘स्वापक औषधि र मन:प्रभावी पदार्थ अधिनियम १९८५’ अन्तर्गत पक्राउ गरिएको नोयडा प्रहरीका डीसीपी विद्यासागर मिश्रले भारतीय मिडियालाई जानकारी दिएका छन् ।
नोयडा पुलिसले ८ नोभेम्बरमा रेभ पार्टीमा सर्पको विष आपूर्ति गरेको घटनामा एफआईआर दर्ता गरेको थियो । यसमा एल्विस यादव पनि अभियुक्त थिए ।
यादव युवापुस्तामाझ रुचाइएका सामाजिक सञ्जाल एन्फ्लुइन्सर हुन् । युट्युबमा उनका १.५ करोड सब्सक्राइबर छन् भने इन्स्टाग्राममा १ करोडभन्दा बढीले फलो गरेका छन् ।