बारा । सुनको सिक्री नदिएको विषयमा विवाहमा लफडा गर्ने बेहुलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेहुला बाराको कलैया उपमहानगर वडा नम्बर ४ का उमेश शाहसहित ६ जना रहेका छन् । उनीहरूलाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले मँगलबार बिहान पक्राउ गरेको हो ।
विवाह मण्डपमा सुनको सिक्री नदिएको झोकमा होहल्ला गरेको र विवाह रद्द गर्न खोज्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बेहुला शाहसहितलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
बेहुली पक्षले दाइजो नदिएको निहुँमा विवाह रद्द गरिएको भन्दै जाहेरी दिने तयारीमा छ । जाहेरी आएमा कानून बमोजिम कारबाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए ।
थापाका अनुसार, सो क्रममा बेहुलाका भिनाजु बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ बस्ने राम एकवाल साह, बेहुलाको दाईहरु मुकेश कुमार साह, राकेश कुमार साह, बेहुलाको बुवा बच्चालाल साह र बेहुला आफैँ उमेश साहलाई कारवाही गर्ने भएको छ । उनीहरु उपर मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
शाहको विवाह वीरगन्ज महानगरपालिका २४ रानीघाटकी रमिता कुमारीसँग तय भएको थियो । विवाह मण्डपमा बेहुलाले सुनको सिक्री मागेपछि बेहुली पक्षले तत्काल दिन नसक्ने भनेपछि होहल्ला भएको थियो । पक्राउ परेका बेहुला शाह वीरगन्ज महानगरपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेको छ ।