वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागूऔषधसहित २ जना महिलालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चौकस्थित सडक खण्डबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा पर्साको टोलीले प्रतिबन्धित लागूऔषध बरामद गरेको हो ।
शंकास्पद अवस्थामा हिँडीरहेकी भारत विहार जिल्ला पूर्वी चम्पारण रामगढवा बस्ने ४३ वर्षीय रुकसाना खातुन र सोही ठाउँकी २० वर्षीय अप्सना खातुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
उनकाअनुसार पक्राउ परेकी रुकसानाको साथबाट बुप्रेनोर्फिन १४४ एम्पुल, डाइजेपाम १४९ एम्पुल, फेनार्गन १३१ एम्पुल बरामद भएको छ । त्यस्तै अप्सानाले लगाएको सुरुवालले छोपी टेपले बेरेर १४८ एम्पुल बुप्रेनोर्फिन, डाइजेपाम १४७ एम्पुल, फेनार्गन १४७ एम्पुल गरी ८७८ एम्पुल फेला परेको प्रहरी नायब उपरीक्षक थापाले बताए । दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध कसूर सम्बन्धी थप अनुसन्धान भइरहेको उनले बताए ।